प्यूठान । ऐरावती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बरौलाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०८१ बैशाख ३० गते गाउँपालिकामा दर्ता भएको सहकारीले शनिबार दोश्रो वार्षिक साधारणसभा गरेको हो ।


पालिका भित्रका ८७२ जना शेयर सदस्य रहेको सहकारीले कृषि उपजको खरिद विक्री तथा विभिन्न आयआर्जनको क्षेत्रमा काम गर्दै आएको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव रेखा भुसालले सहकारीको शेयर पुँजी ९ लाख ७८ हजार रहेको जानकारी गराउनुभयो । प्रतिवेदन अनुसार बचत १२ लाख ३ हजार ४८, ऋण लगानी १८ लाख ८२ हजार ७८, कुल सम्पत्ति २५ लाख ४२ हजार ६८४ रहेको छ ।

साधारणसभामा सञ्चालक समितिका सदस्य सावित्रा पुन सारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा ३३ लाख ३६ हजार ७७३ रुपियाँ बराबरको आयव्यय विवरण प्रस्तुत गनुभएको थियो । सहकारीले यस वर्ष ५९ लाख रुपियाँको बोका विक्री गरेको छ ।


कार्यक्रममा प्रमुख अतिथी ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पालिका भित्रका सहकारीहरु मध्ये ऐरावती सामाजिक उद्यमी महिला सहकारी उत्कृष्ट सहकारीको रुपमा स्थापित हुन लागेको बताउनुभयो । उहाँले महिलाहरुले चलाएको सहकारीको विकासका लागि ऐरावती गाउँपालिका, हेफर परियोजना र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले सहयोग गर्दै जाने बताउनुभयो । सहकारीको दिगो सञ्चालनका लागि सदस्यहरु सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ५ नम्वर वडाका वडा अध्यक्ष चन्द्र बहादुर रोका मगरले पालिका भित्रका सवै वडाहरुमा रहेका सदस्यहरुले उद्यमशिलतामा जोड दिनुपर्ने बताउनुभयो । सहकारी मार्फत कृषि उपज तथा खसीबोका विक्री गर्दा अनुदान समेत पाइने भएकाले त्यसतर्फ कृषकहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले महिला सदस्यहरुले योगदानले अहिले सहकारीले राम्रो शुरुवात गरेको बताउनुभयो । ऐरावती गाउँपालिकालाई खसीबोकामा आत्मनिर्भर बनाउन समेत परियोजना मार्फत काम भइरहेको वडा अध्यक्ष रोकामगरले बताउनुभयो ।


हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत जगत चौधरीले छोटो समयमा सहकारीले गरेको प्रगति उदाहरणीय रहेको बताउनुभयो । सहकारीले आफ्‌ना सदस्यहरुको आयआर्जन वृद्धिका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।


साधारण सभाले विधानका विभिन्न प्रावधानहरु संसोधन समेत गरेको साधारण सभामा उत्कृष्ट किसान ऐरावती गाउँपालिका १ सिर्सेनीका शान्ता गुरुङ र उत्कृष्ट समुह महिला विकास स्वावलम्वन समुहलाई पुरस्कार प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष कमला घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मिना गुरुङ र सञ्चालन व्यवस्थापक विन्दु शाहले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय