प्यूठान । मल्लरानी गाउँपालिका–३ स्थित भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव शुरु भएको छ । विद्यालय प्राङगणमा आज एक औपचारीक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले उद्घाटन गर्नुभएको हो ।

मन्त्री थापाले स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा निर्माण गरिएको स्वर्ण स्तम्भको उद्घाटन गर्नुभयो । स्वर्ण महोत्सवकै अवसरमा प्रकाशन गरिएको स्मारीका समेत विमोचन गर्नुभयो । प्रमुख अतिथी थापाले विद्यालयमा रहेको आदिकवी भानुभक्तको शालिकमा मार्ल्यापण समेत गर्नुभएको थियो ।

प्रमुख अतिथी थापाले विद्यालयको भौतिक विकासका लागि आफुले र आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । जिल्लाको विकास निर्माणका लागि आफूले काम गर्दै आएको उल्लेख गर्दै विकास निर्माणका विषयमा मागहरु आफूकहाँ लिएर आउन उहाँले आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवराज खत्रीले विद्यालयले स्वर्ण महोत्सवको अवसरमा लक्ष्य राखेको आर्थिक सहयोग संकलन गर्न सफल भएको बताउनुभयो । उहाँले उक्त रकमको सही सदुपयोग गर्दै विद्यालयको शैक्षिक स्तर उठाउन थप काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले आगामी दिनमा विद्यालयले कक्षा ८ र १० कक्षामा आइसिटी, विद्यार्थीलाई यातायातको सुविधा, खेलमैदानको उपलब्धता लगायतको विषयमा जोड दिदै जाने बताउनुभयो ।
विद्यालयले स्वर्ण महोत्सवका अवसरमा तीन दिने कार्यक्रम बनाएको छ । उद्घाटन कार्यक्रममा र्याली सहित विभिन्न सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठ सहित जनप्रतिनिधि, विभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती थियो ।



S.K. Creative Media Group