प्यूठान । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा सरोकारवालाबीच जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटनाको विषयमा छलफल तथा समीक्षा गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मानव अधिकारको रक्षाका लागि सवैको भुमिका आवश्यक रहने बताउनुभयो । उहाँले राज्यको दायित्व प्रमुख भएपनि मानव अधिकार उपभोग गर्ने नागरिक पनि त्यसमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नेपालले जनतालाई अधिकार प्राप्त गर्न तर्फ मात्र केन्द्रित गर्दा दायित्वको विषय ओझेलमा परेको बताउनुभयो । मानव अधिकार उल्लंघन भए नभएको विषयमा गहिरो अध्ययन गरेर वास्तविक पिडित हो वा होइन भन्ने कुरामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

इन्सेकले सन् २०२५ मा संकलन गरेको मानव अधिकार वर्ष पुस्तक घटनाहरुको पूर्व समीक्षा गरिएको थियो । इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले सम्मानित रुपले बाँच्न पाउने अधिकार, बाल अधिकार, महिला सम्वन्धि हुने सवै प्रकारका भेदभाव तथा दुर्व्यवहार र सवै प्रकारका जातीय विभेदसँग सम्वन्धित घटना विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले जिल्लामा अर्धवार्षिक र वार्षिक समीक्षा गर्ने गरिएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय प्यूठानमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालय प्यूठानका प्रमुख, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।



S.K. Creative Media Group