प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को लागि बजेट तथा कार्यक्रम पारित गरेको छ । बुधबार गाउँपालिकाको २० औं गाउँसभामा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले ५२ करोड ९२ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
संघीय समानीकरण अनुदान ९ करोड ४२ लाख, प्रदेश समानीकरण ६२ लाख ३८ हजार, संघीय राजश्व बाँडफाँड ९ करोड ४८ लाख २२ हजार, प्रदेश राजश्व बाँडफाँड ८५ लाख, संघीय शसर्त अनुदान २२ करोड १४ लाख रुपियाँ विनियोजन गरिएको छ ।
त्यसैगरी प्रदेश शसर्त अनुदान ६० लाख, संघीय समपुरक अनुदान २ करोड ३३ लाख, प्रदेश समपुरक अनुदान ७५ लाख, संघीय विषेश अनुदान ५० लाख, गत आवको अल्या ४० लाख, आन्तरिक श्रोत ५ करोड ९३ लाख २० हजार रुपियाँ बजेट प्रस्ताव गरिएको हो ।
गाउँपालिकाले चालु तर्फ १३ करोड ६८ लाख ९७ हजार र पुँजिगत तर्फ १७ करोड २४ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वडालाई २० लाख रुपियाँका दरले बजेट उपलब्ध गराएको छ ।
आगामी बजेटमा एमविविएस छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । जसका लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ । त्यसैगरी लिफ्ट खानेपानी महशुलमा उपभोक्तालाई छुट दिनका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
स्थानीय तहमा हाल वैकल्पिक ऊर्जाको अवस्था र सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको छ । दिगो विकास लक्ष्यहरुको स्थानीयकरणको हालको अवस्था र भावी योजना तयारीका लागि बजेट छुट्याइएको छ ।
गाउँपालिकाको निती तथा कार्यक्रम मंगलबार गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत गरिएको निती तथा कार्यक्रम र बजेट पास भएको छ ।


S.K. Creative Media Group