कपिलबस्तु । कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह मृत अवस्थामा भेटिनुभएको छ । गत शुक्रबारदेखि बेपत्ता सिंहको शव आइतबार जंगल क्षेत्रमा मोटरसाइकल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला पारेको हो । उहाँले प्रयोग गर्दै आउनुभएको मोटरसाइकल भने शनिबार नै फेला परेको थियो । मोटरसाइकल भेटिए पनि सिंहको अवस्था अज्ञात रहेको थियो ।
६५ वर्षीय सिंह कपिलवस्तु नगरपालिका ३ स्थित आफ्नै घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किनुभएको थियो । त्यसपछि चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रमा रहेको सीसीटीभी फुटेजमा उहाँ दिउँसो ३ः२७ बजे रामराज पुलतर्फ गएको देखिएको प्रहरीले जनाएको छ ।
रामराज पुल पुगेपछि केही समयमै सिंहले आफूनिकट व्यक्तिहरूलाई मोबाइल मार्फत आफू जंगलमा बाटो बिराएको जानकारी गराउनुभएको थियो । त्यसपछि आफन्त तथा स्थानीयको टोलीले उहाँको खोजी सुरु गरेको थियो ।
खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा शनिबार फेला परेको थियो । त्यसपछि प्रहरी, आफन्त र स्थानीयको टोलीले जंगल क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो ।
आइतबार मोटरसाइकल रहेको स्थान नजिकै सिंहको शव फेला परेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


S.K. Creative Media Group