रोल्पा । अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन ।

बुधबार राति करिब ८ः४० बजे स्थानीय कमलबहादुर पुन मगरको घरलगायत करिब ६ वटा घर तथा गोठमा माथिबाट पहिरो खसेर पुरिएको हो ।

पहिरोमा परी थबाङ गाउँपालिका–५ बोटलबारा निवासी १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको छ पहिरोमा पुरिएका उनीहरूको तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन । प्रहरी  र स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा थप मानिसहरू पुरिएको वा घाइते भएको हुनसक्ने आशंकामा प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली राति करिब १०ः१५ बजे घटनास्थलमा पुगेपछि प्रारम्भिक विवरण संकलन गरिएको हो ।
प्रहरीका अनुसार घटनाबारे थप विवरण खोजी तथा उद्धार कार्यपछि प्राप्त हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय