धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ बजेट ल्याएको छ ।

आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । तत्कालीन प्रदेश सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेटको आकारनै अहिले पुनः प्रदेशसभामा पेस गरिएको हो ।

लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको प्रदेश सरकारले बजेट प्रस्तुत गरेसँगै आर्थिक तथा विकास निर्माणसम्बन्धी काम अघि बढ्ने अपेक्षा गरिएको छ । बजेट पारित नहुँदा प्रदेश सरकारका नियमित कामकाज, विकास आयोजना र सेवा प्रवाह प्रभावित हुँदै आएका थिए ।
मन्त्री मल्लले बजेटको खर्च व्यहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६५ हजार रुपैयाँ जुट्ने अनुमान प्रस्तुत गर्नुभएको छ ।

त्यसैगरी, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ३८ करोड ८० लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ५२ करोड ७६ लाख रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको पनि मन्त्री मल्लले जानकारी दिनुभयो ।

तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले १ असारमा ल्याएको बजेट प्रदेश सभाबाट पारति हुन नसकेपछि एमाले र नेकपाको गठबन्धन सरकार बनेको थियो ।

एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको दुई महिनापछि बजेट आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय