काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ ।

सोमबार दिउँसो १ः०० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरुङले यही असोज २७ गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ ।

बैठकमा नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्डसहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ ।

त्यस बैठकमा लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साइबर अपराधलगायतका अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल हुनेछ ।

मन्त्रालयका अनुसार, त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र समेत जारी गरिने छ ।

गृहमन्त्रीका रुपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो । बिमस्टेकअन्तर्गत महत्वपूर्ण सहकार्यको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो ।

गृहमन्त्री गुरुङले भ्रमणका क्रममा आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरूङ यही असोज २८ गते बुधबार स्वदेश फर्कनुहुने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय