प्यूठान । तीन जिल्लाको धार्मिक पर्यटनलाई जोड्ने गरी यातायात सेवा सञ्चालन गर्ने निर्णय भएको छ। शुक्रबार प्यूठानको झिमरुक गाउँपालिकाले आयोजना गरेको तीनवटै जिल्लाका यातायात व्यवसायीहरुबीच भएको बैठकले जिल्लाको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई जोड्ने गरेर सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको हो ।
स्वर्गद्धारी–मच्छि–सौतामारेहुँदै गुल्मीको रेसुंगा, स्वर्गद्धारी, सुपादेउराली र झिमरुकको मच्छि–कौछेटारी–बौडाहुँदै अर्घाखाँची सुपादेउरालीसम्म यातायात संचालन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिनुभयो । तीन जिल्लाका धार्मिक पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, सुपादेउराली र रेसुंगालाई एक आपसमा जोड्नका लागि सार्वजनिक यातायात सेवा संचालनमा पहल थालिएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो ।

यातायात संचालन भएपछि तीन छिमेकी जिल्लाको सम्बन्ध झन प्रगाढ हुने बताउनुभयो । यो रुटमा नियमित सवारी साधन चलेपछि तीन जिल्लामा रहेको धार्मिक पर्यटकीय गन्तव्यको यात्रामा सहज हुने अपेक्षा गरिएको छ ।
प्यूठानको जुम्रीबजारदेखि मच्छि हुँदै गुल्मीको मदाने गाउँपालिकाको पुर्कोटदह र अर्घाखाँचीको सन्धिखर्कका लागि खलंगा जोगीटारी हुँदै जीप नियमित संचालन भइरहेपनि पर्यटकीयस्थल लक्षित यातायात संचालन थिएनन् । तीनवटै जिल्लाका नागरिकहरुले यी पर्यटकीयस्थललाई एक आपसमा जोड्ने गरी गाडी संचालन गर्न वर्षौअघि देखि माग राख्दै आएका थिए ।
छलफलममा गौमुखी स्वर्गद्धारी यातायात प्रा.लि प्यूठान, देउराली यातायात अर्घाखाँची र गुल्मी यातायातका पदाधिकारीहरु सहभागी थिए । हाल निर्माणधिन अवस्थामा रहेको मदन भण्डारी राजमार्ग सम्पन्न भइसकेपछि यातायात संचालन गर्न अझ सहज हुने व्यवसायीहरुको आशा छ । यातायात संचालन गर्नका लागि पहिलोपटक झिमरुक गाउँपालिकाको अगुवाईमा तीनवटै जिल्लाका व्यवसायीहरुलाई छलफल गराएको हो । बैठकले आगामी फागुन १ गतेदेखि नियमित यातायात सेवा संचालन गर्ने निर्णय गरेको हो ।



S.K. Creative Media Group