काठमाडौं । फेसबुक कमेन्टमा @highlight लेखे अकाउन्ट सुरक्षित भए/नभएको थाहा हुने भन्दै नेपाली प्रयोगकर्तालाई झुक्याउने गरेको पाइएको छ । मनोरञ्जनका लागि खोलिएका फेसबुक पेजले यसरी कमेन्ट गरेकै भरमा अकाउन्ट सुरक्षित नभएको थाहा पाउन सकिने भन्दै भ्रम छरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘फेसबुकको नयाँ आश्चर्य’ सर्च गर्ने हो भने कैयौं फेसबुक पेजले मेटाका सीईओ मार्क जुकबर्गको फोटो सहित त्यस्तो पोस्ट राखेको देख्न सकिन्छ । “फेसबुकको नयाँ आश्चर्य, कमेन्टमा जानुहोस् र पहिले @ लेख्नुहोस्, त्यसपछि हाइलाइट highlight लेख्नुहोस्,” पोस्टमा लेखिएको छ, “यदि हाइलाइट टेक्स्ट नीलो छ भने, तपाईंलाई थाहा छ तपाईंको आईडी बलियो छ र कसैले सजिलै ह्याक गर्न सक्दैन ।”
त्यसबाहेक ती पोस्टमा हाइलाइट लेखिएको कमेन्ट निलो भएन भने निलो बनाउन प्रयोगकर्तालाई पेज फलो सुझाव दिइएको छ । फलो गरिसकेपछि अक्षर निलो आएन भने पोस्ट शेयर गर्नु भनिएको छ । त्यति गर्दा पनि कमेन्ट निलो भएन भने अकाउन्ट असुरक्षित छ भन्दै मिथ्या फैलाइरहेको देखिन्छ ।
ती पोस्टहरूमा केहीले शंका व्यक्त गरेका छन् भने केहीले अकाउन्ट सुरक्षित भए नभएको जाँच्न हाइलाइट लेखेर कमेन्ट गरिरहेका छन् । यस्तो हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ता सहजै झुक्किन्छन् भने अकाउन्ट सुरक्षित बनाउने नाममा त्यस्ता भ्रामक पेज फलो गर्दै बस्छन् ।
के हुन्छ @हाइलाइट कमेन्ट लेख्दा ?
@हाइलाइट र @फलोअर फेसबुकमा केही समयअघि मात्र आएका फिचर हुन् । हाइलाइट यस्तो ट्याग हो, जसले एड भएका व्यक्तिहरूलाई कुनै पनि पोस्टबारे जानकारी दिन्छ ।
उदाहरणका लागि तपाईंले कुनै पोस्टमा @highlight कमेन्ट गर्नुभयो भने तपाईंका साथीहरूसामु उक्त पोस्ट पुग्छ । त्यस्तै @Follower ट्याग राखेर कमेन्ट लेख्नुभएको छ भने तपाईंलाई फलो गर्ने अकाउन्टसम्म उक्त पोस्ट पुग्छ । कतिपयलाई नोटिफिकेसन मार्फत तपाईंलाई मेन्सन गरिएको भनेर जानकारी जान्छ भने कतिपयको फिडमा देखिन्छ ।
कुनै संवेदनशील पोस्ट छ वा तपाईंले आफूसँग एड भएका व्यक्ति वा फलोअरलाई कुनै पोस्टको जानकारी दिनु परे यस्तो ट्याग प्रयोग गर्न सक्नुहुन्छ । फेसबुक पेजहरूले यसरी आफ्नो फलोअर बढाउन यस्तो तरिका अपनाएको देखिन्छ ।
के हाइलाइट कमेन्ट लेख्दैमा अकाउन्ट सुरक्षित भए नभएको थाहा हुन्छ ?
हुँदैन, कमेन्ट लेखेको भरमा अकाउन्ट सुरक्षित भए नभएको थाहा पाउने भन्ने भन्ने हुँदैन । यसअघि कमेन्टमा आफ्नो फेसबुकको पासवर्ड राख्नुहोस्, यदि ****** आयो भने अकाउन्ट सुरक्षित छ, यदि आएन भने असुरक्षित छ भन्ने मिथ्या सूचना फैलिएको थियो । त्यस्तो सूचनामा विश्वास गरेर कैयौं प्रयोगकर्ताले आफ्नो पासवर्ड दिएका थिए । जसले गर्दा अकाउन्ट ह्याक भएका घटना बढेका थिए ।
अहिले यसरी कमेन्ट लेखेर फेसबुक अकाउन्ट सुरक्षित भए नभएको थाहा पाउन जतिले कमेन्ट गरेका छन् उनीहरूको अकाउन्ट पनि ह्याक हुन सक्ने साइबर सुरक्षा विश्लेषकको भनाइ छ । “त्यति सामान्य कुरामा विश्वास गरेर कमेन्ट गरेको थाहा पाएपछि स्क्यामरलाई उनीहरूको कमजोरी थाहा हुन्छ,” एक साइबर सुरक्षा विश्लेषकले भने, “त्यही कमेन्ट देखेर नै स्क्यामरले फ्रेन्ड रिक्वेस्ट पठाएर विभिन्न बहानामा अकाउन्ट नै कब्जा गर्न सक्ने देखिन्छ ।
फेसबुकको सेक्युरिटी फिचरबारे मजाक उडाउँछन् यस्ता पेजहरू
प्रयोगकर्तालाई सामाजिक सञ्जालमा सुरक्षित राख्न ल्याइएका विभिन्न सेक्युरिटी फिचरको मजाक उडाउने गरेको देखिन्छ । विशेषगरी अकाउन्ट प्राइभेट, प्रोफाइल गार्ड र प्रोफाइल लक जस्ता फिचर प्रयोग गर्नेलाई मेन्सन गर्दै त्यस्ता पेजहरूबाट ट्रोल गरेको पाइन्छ ।
त्यस्ता फिचरको मजाक बनाउन थालेपछि कतिपयले आफूले ती फिचर प्रयोग गरेका छन् भने पनि बन्द गर्ने गर्छन् । कतिपय त्यस्ता फिचर प्रयोग गर्नेलाई फरक ढङ्गले हेर्ने गर्छन् ।
फेसबुक अकाउन्ट सुरक्षित भए नभएको थाहा पाउने तरिका छ ?
फेसबुकले अकाउन्ट सुरक्षित भए नभएको थाहा पाउन सकिने त्यस्तो कुनै फिचर ल्याएको छैन । यद्यपि प्रयोगकर्ताले विभिन्न तरिका अपनाएर फेसबुक अकाउन्ट सुरक्षित भए नभएको जानकारी पाउन सक्छन् । त्यसका लागि ‘प्राइभेसी चेकअप’ भन्ने फिचर उपलब्ध छ ।
उक्त फिचरका बारेमा विस्तृतमा अध्ययन गर्न यहाँ क्लिक सक्नुहुन्छ । फेसबुक अकाउन्ट सुरक्षित राख्न समय समयमा पासवर्ड परिवर्तन गर्नुहोस् । टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस् ।
त्यसो गर्दा अरू कसैले पासवर्ड पाए पनि तपाईंको डिभाइसमा आएको ओटीपी कोड वा रिकभरी कोड नराखेसम्म अकाउन्ट लगइन गर्न सक्दैन । आफूसँग भएको ईमेल एड्रेस नै अकाउन्टमा लिङ्क गर्नुहोस् । जसले गर्दा अकाउन्ट ह्याक भइसकेपछि पनि फिर्ता ल्याउन सकिन्छ ।
टेकपानाबाट साभार



S.K. Creative Media Group