काठमाडौं । पछिल्लो समय साइबर अपराधका घटना बढेको छ । दैनिक जसो साईबर अपराधसंग सम्बन्धित उजुरी प्रहरीमा पर्ने गरेको छ ।

चालु आर्थिक वर्षको तथ्याङ्क अनुसार साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधि अन्तर्गत वित्तीय अपराधका एक हजार नौ सय पाँच वटा रहेका छन् ।

प्रहरीका अनुसार सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेञ्जर दुरुपयोगका नौ हजार तीन सय ५० वटा उजुरी परेका छन् ।

यस्तै, भाइबरसम्बन्धी १६, इमोका ६, युट्युबका ३९ वटा, ट्विटरका ६, इन्स्टाग्रामका चार सय ३२, वेबसाइट ह्याकिङका ६ वटा उजुरी परेका छन् । साउनदेखि यता टिकटकसम्बन्धी ६ सय ६७ वटा उजुरी दर्ता भएका छन् । टिकटकले समाजमा अराजकता फैलाएको भन्दै सरकारले यसलाई प्रतिबन्ध लगाइसकेको छ ।

सूचना प्रविधि अन्तर्गत वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका सबैभन्दा धेरै चार सय तीनवटा उजुरी छन् । उपहार र पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, चिट्ठा परेको प्रलोभन देखाएर ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर र कोठा खोजी दिनेतर्फ ३५ वटा उजुरी परेका प्रहरीले जनाएको छ ।

नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिइ फिरौती माग गर्ने उजुरी पनि धेरै छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने, ठगी गर्ने, दुर्व्यवहार गर्ने, पीडितहरूको तस्बिरमा अश्लीलता जोडी दुःख–हैरानी दिने, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्याएर डाटा नष्ट गरी हानि–नोक्सानी पुर्याएको उजुरी पनि आएका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धानको कामलाई चुनौती थपेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय