काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले एउटा पनि देखिने काम गर्न नसकेको बताउनुभएको छ ।
आइतबार नेकपा एमालेको कैलालीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार नालायक भएको बताउनुभयो । उहाँले सरकारले कुनै गतिलो काम नगरेको टिप्पणी गर्नुभयो । “प्रधानमन्त्रीले एउटा पनि देखाउन लायकको काम गर्नुभएको छैन”, उहाँले भन्नुभयो ।
ओलीले यो सरकार निकम्मा भएकोले सरकारले केही काम गर्न नसक्ने दाबी गर्नुभयो । “यो निकम्मा सरकार हो, यसले केही काम गर्न सक्दैन”, ओलीले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले पटक पटक सच्चिने कुरा गर्नुभएको भए पनि अब उहाँले सच्चिने सम्भावना नरहेको ओलीले बताउनुभयो । “७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?” उहाँले प्रश्न गर्नुभयो ।
ओलीले अहिले राष्ट्र निक्कै कमजोर अवस्थामा पुगेको बताउनुभयो । देशमा कुशासन, अनियमितता र भ्रष्टाचार बढेको तथा राष्ट्रिय स्वाभिमान संकटमा परेको ओलीले टिप्पणी गर्नुभयो ।
ओलीले आफू प्रधानमन्त्री हुँदा गरेका काम सरकारले रोकेको भन्दै आलोचना गर्नुभयो । विकासका सबै काम सरकारले ठप्प पारेको उहाँले टिप्पणी गर्नुभयो । सरकार विकासका सबै काम ठप्प बनाएर भ्रष्टाचार र तस्करीको काममा लागेको उहाँले बताउनुभयो ।
ओलीले अधिवेशनबाट सक्षम र योग्य नेतृत्व चयन गर्न निर्देशन दिनुभयो । उहाँले अधिवेशनको क्रममा कुनै पनि गुटबन्दी नगर्न पनि आग्रह गर्नुभयो ।