
काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ । संगठनको ६०औँ स्थापना दिवसको अवसरमा जेठ १ गते महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समिक बडालले गत ४ फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महोत्सवमार्फत विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीहरूको बहुआयामिक प्रतिभालाई उजागर गर्ने उद्देश्य राखिएको बताउनुभयो ।
युवाहरूमा कला, संस्कृति र राजनीतिक चेतनाको विस्तार गर्नेलगायतका उद्देश्यले आयोजना गर्ने महोत्सवमा कम्तीमा दुई लाख विद्यार्थी सहभागी गराउने अनेरास्ववियुले जनाएको छ ।