
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाषा र संस्कृति समाजका ऐना भएको बताउनुभएको छ ।
नेपाल चाइना कल्चर समिट एण्ड अवार्ड सेरोमोनीलाई बुधबार सम्बोधन गर्दै ओलीले संस्कृति केवल गाउने र नाच्ने विषय मात्र नभएको बताउनुभयो । त्यस्तै भाषा पनि अनुभव आदान प्रदान गर्ने विषय मात्र नभएको ओलीले प्रष्ट पार्नुभयो ।
उहाँले भाषा, संस्कृति निर्माण हुन लामो समय लाग्ने बताउनुभयो । ‘संस्कृति, भाषा बन्न समय लाग्छ, त्यो त सदियौँको विकास क्रमबाट हुन्छ’, ओलीले भन्नुभयो । नेपाल र चाइना धेरै पुराना मित्र भएका ओलीले बताउनुभयो । नेपाल र चाइना बिचको सम्बन्ध कूटनीतिक सम्बन्ध मात्र नभएर नागरिकदेखि नागरिक बिचको सम्बन्ध रहेको उहाँको भनाइ छ ।
ओलीले चीनको भाषा र संस्कृति नेपाली बालबालिका समक्ष प्रस्तुत गर्ने कार्यक्रमले दुई देशका नागरिक नागरिकलाई जोड्न थप सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस्तो कार्यक्रम आयोजना गरेकोमा उहाँले आयोजकलाई धन्यवाद दिनुभयो ।
सो क्रममा ओलीले कार्यक्रममा सहभागी विद्यार्थीसँग फोटो खिचेर रमाइलो गर्नुभएको थियो ।