प्यूठान । लोकसेवा आयोगले ५ सय ३७ जना खरिदारका लागि आवेदन माग गरेको छ । आयोगले सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी अप्राविधिक खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो ।
आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने छ ।
यही चैत २० सम्म दरखास्त दिन सकिने छ । त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । जसअन्तर्गत सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ मा बिहान ११ बजे हुनेछ । त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने छ ।
सूचना अनुसार धनकुटामा ३८, इलाममा ३१, खोटाङमा २६, जलेश्वरमा ७१, काठमाडौंमा ११८, हेटौंडामा १६, पोखरामा ४५, बागलुङमा २०, बुटवलमा ३५, दाङमा २७, सुर्खेतमा ३१, जुम्लामा १८, दिपायलमा ३४, महेन्द्रनगरमा २७ जनाका लागि आवेदन खुलेको छ ।



S.K. Creative Media Group