प्यूठान । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्युठानका विभिन्न पालिकाहरूमा आँधीहुरीले पुर्याएकाे क्षति र प्रभावितलाई तत्काल राहत, सहयोग र क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीसँग माग गर्नुभएको छ।
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई सिंहदरबारमा भेटेर प्रतिनिधि सभा सदस्य सुर्य थापाले आफ्नो जिल्लामा चैत्र १६ गतेदेखि २२ गतेसम्म आएको हावाहुरीले १ सय ६२ ब्यक्तिगत र सरकारी भौतिक संरचनामा क्षति पुर्याएको भन्दै राहत, सहयोग र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको हो ।
जिल्लामा हावाहुरीले विभिन्न पालिकामा ९९ ओटा घर, ४६ वटा गोठ,१० ओटा सामुदायिक विद्यालय, ६ ओटा सरकारी तथा गैर सरकारी कार्यालय र १ पानी टङ्की गरेर १ सय ६२ भौतिक संरचनामा क्षति पुराएको जिल्ला प्रहरी कार्यालय प्युठानको रिपोर्टमा उल्लेख छ । जिल्लाका ९ स्थानीय तह मध्य सबैभन्दा बढी झिमरुक गाउँपालिकामा ७४ वटा भौतिक संरचनामा क्षति पुराएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
गृहमन्त्री लामिछानेले प्युठान जिल्लामा भएको क्षतिको विषयमा आफू गम्भीर भएको र आफूले तत्काल आवश्यक राहत प्याकेज लैजाने जानकारी दिनुभएको सांसद थापाले जानकारी जानकारी दिनुभयो । यसको तत्काल जनतालाई राहत तथा क्षतिपूर्तिका लागि गृहमन्त्री सँग आग्रह गरेको बताउनुभयो ।
भेटमा झिमरुक गाउँपालिकाको मच्छिमा इलाका प्रसासन कार्यालय मालपोत, नापी कार्यालय स्थापना गर्ने सन्दर्भमा गृहमन्त्री सँग बृहत छलफल भएको बताइएको छ। उक्त भेटघाट कार्यक्रममा गृहमन्त्री लामिछानेले मच्छिमा इलाका प्रसासन कार्यालय स्थापनाको लागि आवस्यक प्रक्रिया अगाडी बढाउने आश्वासन दिएकाे सचिवालय स्रोतले जानकारी दिएको छ ।
प्युठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य सूर्य थापा र झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री सहितको टिमले जिल्लाको बिकासको विषयमा विभिन्न मन्त्रालयसँग छलफल भएको थियो ।