सुजल श्रेष्ठ
प्यूठान । ऐरावती गाउँपालिका–२ की रुमा कुमारी घर्तिमगरलाई डाक्टर भेट्न जिल्ला अस्पताल विजुवार पुग्नुपथ्यो । चिकित्सकीय उपचार सेवाका लागि विहानै गाडी चढेर ३५ किलोमिटर टाढा रहेको जिल्ला अस्पताल विजुवार पुग्नुपर्ने बाध्यता अहिले हटेको छ ।
“पहिलो डाक्टर नहुँदा बिजुवार जानुपथ्र्यो,” घर्तिमगरले भन्नुभयो,“अहिले डाक्टर आउनुभएको छ, यँहि उपचार हुने भएको छ ।” पहिले जिल्ला पुगेर फर्किन दिनभर समय लाग्ने गरेपनि अहिले आफ्नै ठाउँमा डाक्टरबाट उपचार सुविधा पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।
त्यस्तै स्वास्थ्य चौकी पुग्नुभएकी स्थानीय ५५ वर्षीया कुसुम जिसीले डाक्टर आएपछि नियमित रुपमा सेवा पाएको बताउनुभयो । पहिले जिल्ला अस्पताल पुग्नुपर्ने विरामी अहिले गाउँकै स्वास्थ्य चौकीमा पुगेर उपचार हुने गरेको उहाँको भनाई छ ।
गाउँपालिकाकै केन्द्रमा रहेको पुरनठाँटी स्वास्थ्य चौकीमा पालिकाले एमबिबिएस डाक्टरको व्यवस्था गरेपछि अहिले पालिकाका विरामीले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । वडा नम्वर २ मा पर्ने स्वास्थ्य चौकीमा विगत एक महिनादेखी एमबिबिएस डाक्टरको व्यवस्था गरेपछि उपचार गराउन पुग्ने विरामीले सुविधा पाएका छन् ।
“आर्थिक रुपमा कमजोर विरामीहरु आफ्नो समस्या लिएर आउन थाल्नुभएको छ,” स्वास्थ्य चौकीमा कार्यरत डाक्टर विनोद पन्तले भन्नुभयो,“विरामी आउने संख्या पनि स्वास्थ्य चौकीमा बढ्दै गएको छ ।” अहिले दैनिक ३५÷४० जना विरामी स्वास्थ्य चौकी पुग्ने गर्दछन् । मधुमेह, रक्तचाप, बाथ रोग लगायतका समस्या भएका विरामी आउने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमै ल्यावसेवा र एक्सरे सेवा समेत भएकाले उपचार गर्न थप सहज भएको डाक्टर पन्तले बताउनुभयो ।
ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले पालिकाको केन्द्रमा रहेको स्वास्थ्य चौकीबाट एमबिबिएस डाक्टरको सुविधा दिइएको बताउनुभयो । “पहिले कोभिड–१९को बेला समेत उक्त स्वास्थ्य चौकीबाट एमबिबिएस डाक्टरको सेवा दिएको थियो,” उहाँले भन्नुभयो, “अहिले पनि उक्त सेवालाई निरन्तरता दिएका छौं ।” स्थानीयको माग र आवश्यकताको आधारमा सेवा प्रवाह गरिएको उहाँको भनाई छ । डाक्टरले पालिका भित्र रहेका ६ वटा वडामा रहेका स्वास्थ्य संस्थामा पुगेर समेत सेवा दिने गरेको उहाँले बताउनभयो ।