
प्यूठान । झिमरुक गाउँपालिका-८, टिमुरचौर स्थित बसाई- खालाखर्क- झुम्दी खानेपानी मर्मत योजनाको बिबाद मिलेको छ । महिना दिन अघि देखि स्थानीय बीचको विवादका कारण अवरुद्ध भएको काम सुचारु हुने भएको हो ।
टिमुरचौर स्थित ठुलाखाेला मुहानबाट इन्टेक बाधेर बसाई-खालाखर्क र चिप्लेटी बस्तिमा खानेपानी लैजान खोजेकोले आफ्नो बस्तीमा खानेपानी समस्या हुने भन्दै सानी बसाईका स्थानीयले उचित खानेपानी आफुलाई पनि हुनुपर्ने माग राख्दै अवरुद्ध गरेका थिए । बुधबार भएको सर्वपक्षीय छलफलले सानि बसाइँका स्थानीयको खानेपानी समस्या समाधान गरिदिने प्रतिबद्धता गरेपछि निर्माणको काममा देखिएको अवरुद्ध हटेको हो । खानेपानी समस्या स्थानीय सरकारले समाधान गरिदिने भएपछि स्थानीय खुशी समेत भएका छन् ।
सानी बसाइँका स्थानीयले आफुहरुलाई पर्याप्त र व्यवथित र सुरक्षीत खानेपानीको माग गर्दै गाउँपालिका कार्यालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानमा पटक-पटक जानकारी गराएपनि समस्या समाधान हुन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपा एमसीले बताउनुभयो । बुधबार कार्यालयका प्रतिनिधि सहित स्थानीय उपभोक्ता बिच छलफल भएर खानेपानी समस्या समाधान भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष एमसीले जानकारी दिनुभयो ।
खानेपानी योजनामा भएको समस्या समाधान गर्न झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानका डिभिजन प्रमुख बेद प्रसाद आचार्य, झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, जनप्रतिनिधि, पालिका इन्जिनियर अशोक जिसी, प्राबिधिक टिम र डिभिजन खानेपानी कार्यालयका इन्जिनियर टिम र स्थानीय उपभोक्ताहरु बिच समस्या समाधान बारे छलफल भएर समस्या समाधान भएको झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतले जानकारी दिनुभयो ।
२०६० सालमा निर्माण गरिएको यो खानेपानी योजनामा तल्लो बस्ति सानीबसाईका स्थानीयलाई समेत खानेपानी ब्यवस्थापन गर्ने पुरानो सहमतिलाई लत्याउदै अहिले इन्टेक बाधेर बसाई खालाखर्क र चिप्लेटी बस्तिका स्थानीयले खानेपानी लैजान लागेपछि आफ्नो बस्तीको लागि खानेपानी ब्यवस्था गर्नुपर्ने माग राखेर अवरुद्ध गरेको सानी बसाईका स्थानीय राजु गिरीले जानकारी दिनुभयो ।
गाउँपालिका र स्थानीय बीच भएको छलफलमा सबै बस्तीमा सरकारले लिएको एकघर एकधाराको नीति अनुसार खानेपानी ब्यवस्थापन गर्न सानी बसाई बस्तिको लागि ब्यवस्थित खानेपानी वितरणको लागि तल्लो मुहानमा नयाँ इन्टेक निर्माण गरि पानी संकलन टंकी निर्माण गरेर बस्तिमा खानेपानी लैजाने सहमती भएको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार सानिबसाइ बस्तिको खानेपानी ब्यवस्थापन गर्न प्राबिधिक लागत तयार गरेर चालू आर्थिक वर्षमा नै काम पूरा गरिने बताउनुभयो । सानी बसाइ बस्तिमा अहिलेको मुहानबाट खानेपानी अपुग भए उपल्लो मुहानबाट १६ एमएमको पाइमा कलेक्सन च्याम्बरबाट पानी वितरण गर्ने व्यवस्था मिलाउने सहमति भएको उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
स्थानीयलाई पिउने पानीको व्यवस्था के-कसरी गर्न सकिन्छ भनेर स्थानीय सरकार लागि रहेकोले सबैको पहुँचमा स्वच्छ खानेपानी पुर्याउने उपाध्यक्ष पोख्रेलले बताउनुभयो । योजनाको काम भैरहेको ठाउँमा जनताहरुले मिलेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
झिमरुक-८, टिमुरचौर स्थित बसाई-खालाखर्क-झुम्दी खानेपानी मर्मत योजना निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानले यस आर्थिक वर्ष ९ लाख ५० हजार बजेट मर्मतको लागि ब्यवस्था गरेको डिभिजन प्रमुख बेद प्रसाद आचार्यले जानकारी दिनुभयो । यो बजेटबाट इन्टेक, कलेक्सन च्याम्बर, मुख्यलाइन, शाखालाइन, रिजर्भ टंकी एकघर एकधारा अनुसार घरायसी धारा निर्माण गर्ने लागत रहेको उहाँले बताउनुभयो ।
ठुलाखाेला मुहानबाट बसाइ खालखर्क बस्तिका १० घरधुरी, चिप्लेपहरा बस्तीका १६ घरधुरी र सानी बसाइ बस्तीका ५ घरधुरी गरि ३१ घरधुरीलाई खानेपानी ब्यवस्थापन गर्ने तयारीमा स्थानीय सरकार लागि परेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । उहाँले झिमरुकका खानेपानी नपुगेका सबै बस्तिहरुमा स्वच्छ खानेपानी ब्यवस्थापन गरि घरघरमा खानेपानी पुर्याउने लक्ष राखेको बताउनुभयो ।