प्यूठान । बिजयनगर महिला साना किसान कृषि सहकारीले धानको बीउ उत्पादन गरेको छ । बिगत ३ वर्षदेखी सहकारीले उन्नत जातको बीउ उत्पादनमा काम गर्दै आएको हो ।

सहकारीका अध्यक्ष शर्मिला राउतले २०७२ सालमा किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम मार्फत बीउ उत्पादनको काम थालेपनि कार्यक्रम सकिएपछि केहि समय रोकिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थापना भएपछि पुन: बीउ उत्पादन गर्न थालिएको जानकारी दिनुभयो । यो वर्ष करिब १ सय क्विन्टल बीउ उत्पादन भएको उहाँको भनाई छ ।

सहकारीले उत्पादन गरेको बीउ प्यूठान नगरपालिकाले खरिद गर्न लागेको कृषि शाखा प्रमुख अजित पौडेलले बताउनुभयो । सहकारीले बीउको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । बीउको ग्रेडिङ र उपचारमा बिशेष ध्यान दिनुपर्ने उहाँको सुझाब छ । बीउमा अनुदान समेत पाउने हुँदा राम्रो मुल्य समेत पाउने भन्दै बीउ उत्पादनमा थप क्रियाशिल हुन आग्रह गर्नुभयो । उहाँले जिल्लामा माग भएका जातका बीउ संगै मकै र गहुँको बीउको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

बीउ बजारीकरण उद्घाटन समारोहमा प्यूठान नगरपालिकाका प्रबक्ता सुमन श्रेष्ठले सहकारीले नमूना र उदाहरणीय काम गर्दै आएको बताउनुभयो । महिला सहकारी भएर उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले सहकारीको बिकासका लागि आगामी दिनमा पालिकाले सहयोग र समन्वय गर्दै जाने बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनुकिकरण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले जिल्लामा पछिल्लो समय बीउ उत्पादन र बजारीकरणको वातावरण बन्दै गएको बताउनुभयो ।
उहाँले जिल्लामा ३७० मेट्रीकटन धानको बीउ आवश्यक पर्ने गरेको बताउनुभयो । ” कतिपयले पुरानै बीउ प्रयोग गर्नुहुन्छ कतिपयले बाहिरबाट ल्याउनुहुन्छ,” गिरीले भन्नुभयो,”उन्नत बीउ प्रयोग गरेमा २० प्रतिशत उत्पादन पनि बढ्छ ।” खान प्रयोग हुने धान भन्दा बीउको मुल्य बढी भएपनि किसानले बुझ्न नसकेको उहाँको भनाई छ । परियोजनाले तरकारीको बीउ उत्पादन समेत गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर