प्यूठान । माण्डवी गाउँपालिका–५ स्थित पारथुंगा फाँटमा यस वर्ष किसानले पहिलो पटक चैते धान लगाएका छन् । एक बाली मात्र धानखेती गर्दै आएका किसानले यसवर्ष चैते धान लगाएका हुन् । करीव पाँच सय रोपनी क्षेत्रफल रहेको फाँटमा किसानहरुले चैते धानको रोपाईँ गरिसकेका छन् ।
“हामीलाई चैते धान खेतीबारे थाहा थिएन,” स्थानीय किसान शिवा योगीले भन्नुभयो, “अहिले आठ रोपनी खेतमा धान लगाएको छुँं ।” वर्खे धानभन्दा बढी फल्ने र दुई बाली धान लगाउन सकिने प्राविधिक सल्लाह पाएपछि चैते धान लगाएको उहाँले बताउनुभयो ।
अर्का किसान टंक बहादुर योगीले पहिलो पटक चैते धान लगाएकाले कस्तो उत्पादन हुन्छ भनेर किसानहरु उत्साहित भएको बताउनुहुन्छ । धान खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिंचाई कुलो मर्मतका लागि समेत सहयोग गरेको बताउनुभयो ।
प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा चैते धान खेती विस्तार हुँदै आएको छ । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्यूठानले चैते धान खेतीको प्रर्वद्धन गर्दै आएको छ । जसले गर्दा यसअघि चैते धान लगाएका किसानहरुले समेत निरन्तर रुपमा चैते धान खेती गर्दै आएका छन् ।
“३ वर्षदेखी निरन्तर चैते धान लगाउँदै आएको छु,” प्यूठान नगरपालिका–२ दाखाक्वाडीका मुक्ति पोख्रेलले भन्नुभयो, “अहिलेसम्म राम्रो उत्पादन भइराखेको छ ।” चैते धान खेतीका लागि परियोजनाले सिंचाई कुलो निर्माण, कृषि यन्त्रमा समेत सहयोग गरेकाले किसानलाई खेती गर्न सजिलो भएको उहाँको भनाई छ ।
जिल्लामा ६ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । धान उत्पादन बढाउन २ हजार ७९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती पनि गर्ने गरिएको छ । धान जोनले विगत ४ वर्षदेखि चैते धानको क्षेत्र विस्तारमा कार्यक्रम गर्दै आएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । वर्खे धानभन्दा बढी फल्ने भएकाले पनि यसको क्षेत्र विस्तारमा परियोजनाले जोड दिएको उहाँको भनाई छ । यो वर्ष करीव एक हजार रोपनी क्षेत्रफल विस्तार भएको कार्यालय प्रमुख गिरीले बताउनुभयो ।
चैते धानका लागि चैते ५, हर्दिनाथ १ र हर्दिनाथ ३ जातको वीऊ प्रयोग गरिएको छ । चैते धान खेती प्रर्वद्धनका लागि सिंचाई कुलो, मेसिन औजार, वीऊ, औषधी उपलब्ध गराउने गरिएको छ । यद्यपि यसवर्ष सिंचाईको समस्याले गर्दा कतिपय फाँटमा चैते धान खेती विस्तार गर्न समस्या भइरहेको छ । ऐरावती गाउँपालिका–२ हरियाटारीका किसान जानका राउतले भन्नुभयो, “अझैपनि पर्याप्त सिंचाईको व्यवस्था नहुँदा खेती गर्न समस्या छ ।”