प्यूठान । जिल्लामा लागू औषध दुर्व्यसन, लैंगिक हिंसा र अपराध रोकथाम तथा महिला हिंसा विरुद्ध अभियान शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले बनाएको लागू औषध नियन्त्रण कार्ययोजना, २०८१ बमोजिम जिल्लामा अभियान शुरु भएको हो ।
शनिबार गौमुखी गाउँपालिका वडा नम्बर ७ नारिकोटको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वयमा अमृत जीव्न माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले प्रविधिको गलत प्रयोगका कारण हिंसा बढेको पाईएको भन्दै समाजमा हिंसा भएमा लुकाउन र जोगाउन नहुने बताउनुभयो । उहाँले त्यसो गर्दा अपराधीलाई अपराध गर्नमा प्रोत्साहन हुने भएकोले कानूनको दायरामा ल्याउन सबैले आफ्नो पक्षबाट सहयोग गर्नु पर्ने बताउनुभयो । महिला माथी हुने जुनसुकै हिंसालाई कानूनी दायरामा ल्याउनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै लागू औषधमा फसेका यूवा यूवतीलाई घरपरिवारका सदस्यले ख्याल नगर्दा समाजमा अझै धेरै अपराध, हिंसा बढ्न सक्ने बताउनुभयो ।
कर्ण सकारात्मक कोष भालुवाङका संयोजक बसन्त पुनले लागू औषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा नियन्त्रण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी जिल्ला सरकारी वकिल कार्यालय प्यूठानका सहायक जिल्ला न्यायधिवक्ता विष्णु हरि मरासिनीले कानूनी प्रावधानको वारेमा प्रकाश पार्नु भएको थियो । वडा अध्यक्ष कोमल पुरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयको सहभागिता रहेको थियो ।