प्यूठान । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पतालको अवस्था वारे अनुगमन तथा निरीक्षण गर्नुभएको छ । आइतबार अस्पतालको निर्माणाधिन भौतिक संरचना, आन्तरीक शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, प्रयोगशाला लगायत प्रशासनिक क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।
अनुगमन पछि मन्त्री पुनले अस्पतालको विकासका लागि आफुले आवश्यक पहल गर्ने बताउनुभएको छ । उहाँले जनतालाई स्वास्थ्य उपचारमा कुनै कमि हुन नदिन आग्रह गर्नुभएको छ । गुणस्तरीय सेवा प्रवाह गर्न तर्फ लाग्नुपर्ने उहाँले अस्पताल परिबारलाई अनुरोध गर्नुभयो ।
मन्त्रीलाई अस्पताल विकास समितिद्वारा स्वागत
नवनियुक्त मन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल)लाई प्यूठान अस्पताल विकास समितिले आज एक कार्यक्रमको आयोजना गरि अस्पतालमा स्वागत गरेको छ । अस्पतालमा भएको कार्यक्रममा प्यूठान अस्पत्ताल विकास समितिका अध्यक्ष विजय विराज विष्टले स्वागत गर्नुभएको हो ।
स्वागत गर्दै प्यूठान अस्पत्ताल विकास समितिका अध्यक्ष विष्टले प्यूठान अस्पतालको बिकासमा सहयोग गर्न मन्त्री पुनलाई आग्रह गर्नुभयो । कार्यक्रममा निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनाल, कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगी, पुर्वमेयर अर्जुन कुमार कक्षपती, अस्पतालका स्वास्थ्यकर्मी कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
अस्पताल सुधारको लागि अन्तरक्रिया
अस्पतालको अनुगमन तथा निरीक्षण गरे लगत्तै प्यूठान अस्पतालको समग्र पक्षमा सुधार ल्याउन अन्तरक्रिया कार्यक्रम गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष बिजय बिराज विष्टको अध्यक्षता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले अस्पतालको वर्तमान अवस्था र समस्याबारे जानकारी गराउनुभएको थियो ।
भौतिक संरचना तथा चिकित्सकको आवासको अभाव रहेकोले आवश्यक जनशक्ति ब्यवस्थापन लागि पहल गरिदिनुहुन आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीले नियमानुसार पाउने सुविधाको अभाव लगायतका समस्या रहेपछि अस्पतालको सेवालाई चुस्त दुरुस्त बनाउदै आएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट खनालले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले अस्पतालमा ईमानदार भएर गुणस्तरीय सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । सवै प्रादेशिक अस्पताललाई ध्यानमा राखेर आवश्यकताको आधारमा अस्पताललाई ब्यवस्थित गर्दै लैजाने योजनामा रहेको मन्त्री पुनले जानकारी दिनुभयो ।