कमल बि.क.
प्यूठान । प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले
छुवाछुत मुक्त सुन्दर नगर निर्माणको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ । जुम्रीमा शुक्रवार आयोजित ‘नेपाली राज्य सत्ताको वर्गीय जातीय चरित्र र दलित मुक्तिको बैचारिकधार’ विषयक कार्यशाला गोष्ठीमा छुवाछुत मुक्त समाज निर्माणको लागि थप छलफलका साथ अगाडी बढ्ने नगर प्रमुखले बताउनुभएको हो ।
“म, हामी र हाम्रो समुदायबाट सभ्य समाज निर्माणको लागि गतिशलि भई अगाडी बढ्न सक्यो भने अधिकार प्राप्त गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
मुलुकमा वर्गीय व्यवस्था रहँदा सम्म विभिन्न विभेद रही रहने कार्यक्रम बोल्ने बक्ताहरुले बताए । नेपाली राज्य सत्ताले दलित वर्गलाई देशको कार्यकारी नेतृत्वमा लैजान नसकेको र पछाडी पारिएको दलित वर्ग सदियौ देखी कला, सीपले अव्वल रहेपनि समाजमा अझै पनि तल्लो दर्जाको रुपमा हेरिएको साथै दलित मुक्तिको लागि दलित वर्गनै एकजुट भएर आत्मसम्मानको आन्दोलन नै रहेको समेत बोल्ने बक्ताहरुले बताएका छन ।
दलित कल्याण संघ नेपालका अध्यक्ष अधिवक्ता, दलित आन्दोलक तथा राजनैतिक, सामाजिक विश्लेषक समेत रहनु भएका मोतीलाल नेपालीले कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा राज्यहरुको उत्पत्ति र स्वरुपहरु, राज्यको विकासका ऐतिहासिक अवस्था, मानव समाजको विकासमा नदीघाँटी सभ्यताको इतिहास, वैदिक सभ्यताको विकास र जातपात छुवाछुत समान राज्य व्यवस्थाको सुरुवात, वर्ग विभाजत समाज र यसको स्वरुप, नेपाली राज्य सत्ताको वर्तमान अवस्था र दलित उत्पीडनका स्वरुपहरु, राज्यको उपरी संरचनामा दलित प्रतिनिधित्वको दार्शनिक पक्ष वर्तमान राज्यको प्रवृती, शासक वर्गले छुवाछुतको दासत्व किन अन्त्य गर्न चाहदैनन, दलित मुक्तिका बैचारिक धार देशका संविधान कार्यान्वयनको पहल, दलित मुक्तिका भावि कार्यदिशा साथै प्यूठान नगरपालिकाले दलितको अधिकार बारे गर्ने कार्यक्रमहरु रहेका थिए ।
प्यूठान नगरपालिकाका १० वटै वडाहरुबाट दलित वर्गको प्रतिनिधित्व रहेको कार्यक्रममा दलित कल्याण संघ प्यूठान शाखाका अध्यक्ष सुशिला नेपालीको अध्यक्षता, प्यूठान नगरपालिका वडा नं. ३ वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन श्रेष्ठ, १ नं. वडा अध्यक्ष साधना रावत, कार्यपालिका सदस्य, जनप्रतिनिधि, भातृसंगठनका प्रमुख तथा प्रतिनिधि, अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिति रहको थियो । कौशल्या नेपालीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण सन्त बहादुर नेपालीले गर्नुभएको थियो ।