प्यूठान । झिमरुक गाउँपालिकाले किशोरकिशोरी प्रजनन स्वास्थ्य सम्बन्धि पञ्चवर्षीय योजना निर्माण कार्यको लागी योजना तर्जुमा कार्यशाला सम्पन्न गरेको छ । २ दिन झिमरुक गाउँपालिकाको सभाहलमा भएको कार्यशालामा किशोरकिशोरी प्रजनन स्वास्थ्यको पञ्चवर्षीय योजना निर्माण कार्यको लागी विभिन्न सरोकारवाला बीच छलफल भएर पञ्चवर्षीय योजना निर्माणको खाका तयार गरिएको हो ।
बालविवाह न्यूनीकरण गर्ने, कम उमेरमा हुने प्रजनन दर घटाउने, किशोर किशोरीमैत्री स्वास्थ्य सेवालाई सरकारी तथा निजि स्वास्थ्य संस्थाबाट प्रदान गर्ने, युवायुवतीहरुको नेतृत्व विकासलाई ध्यानमा राखी कार्यक्रमलाई स्थानीय तहले मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रममा समाबेश गरि बजेट ब्यवस्थापन गर्ने र बालबालिकाको चौतर्फी बिकासमा सहयोग पुर्याउने उदेश्यले कार्यशाला गरिएको मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यशालामा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले किशोर किशोरी प्रजनन स्वास्थ्य, बालविवाह न्यूनीकरण, लगाएत अन्य सबैखाले मुद्दामामा अभियान चलाउनुपर्ने बताउनुभयो । “हामिले साना बालबालिकालाई सहि संस्कार र घरमा असल गाइडलाइन नगरेसम्म हामिले चाहेको जस्तो समृद्धि ल्याउन सम्भव हुँदैन,” अध्यक्ष महतरा क्षेत्रीले भन्नुभयो ।
बालबालिकाहरु देशका कर्णधार भएकोले बालबालिकाको माग र मुद्दामा स्थानीय सरकारले चासो नदिने हो भने हाम्रो लक्ष्य पूरा हुन नसक्ने उहाँले भनाई छ । स्थानीय तहमा पर्याप्त बजेट नभएकोले क्रमश बालबालिकाको महत्त्वपूर्ण माग र मुद्दा सम्बोधन गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्यस्तै पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जबसम्म स्थानीय सरकारलाई सबै हिसाबले बलियो बनाउन सकिँदैन तब सम्म हामिले चाहे अनुसार स्थानीय जनताका समस्या हल गर्न कठिन हुने बताउनुभयो । देशको कणधार निर्माण गर्न यो कार्यक्रम सहयोगी बनेको प्रती प्रसंशा गर्नुभयो । आगामी दिनमा थप प्रभावकारी बनाएर सहकार्य गर्दै काम गर्न स्थानीय सरकार तयार रहेको बताउनुभयो ।
उहाँले बालबालिकाको क्षेत्रमा नीति तथा कार्यक्रम तयार गरे बजेट ब्यवस्था गर्नेमा स्थानीय सरकार लागिरहेको बताउनुभयो । बालबिवाह न्यूनीकरण तथा अन्य महिला हिंसा विरुद्धको कार्यक्रम अभियानको रुपमा गर्दै आएपनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समाबेश गर्दै लैजानेमा सरकार सकारात्मक रहेको बताउनुभयो ।
दुई दिनमा भएको छलफलमा आगामी वर्षको लागि किशोरकिशोरीको लागि योजना बनेको छ । निर्माण गरेको योजनामा स्थानीय सरकारले बालबालिकाको क्षेत्रमा बजेट बिनियोजन गर्न बालबालिकाका प्रतिनिधिहरुले स्थानीय सरकारका प्रमुख समक्ष अनुरोध गरेका छन् ।
आफुले तयार गरेको आगामी आर्थिक वर्षमा बालबालिकाको क्षेत्रमा बजेट तथा कार्यक्रम स्वीकृत गरिदिनुहुन निर्णय सहितको फाइल बालबालिकाले अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई हस्तान्तरण गरेका थिए ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री अध्यक्षतामा आइतबार देखि सुरु भएको दुई दिने कार्यशालामा, उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, वडा अध्यक्ष कार्यपालिका सदस्य युएसएआईडी किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रमका जिल्ला स्थित कर्मचारीहरु, किशोरकिशोरी युवा संजाल, पालिकामा रहेका स्वास्थ्य संस्थाका प्रमुखहरु विभिन्न बिधालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो ।
युएसएआईडी नेपाल, मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्युठानको सहजीकरण र आर्थिक सहयोग तथा झिमरुक गाउँपालिकाको समन्वयमा किशोरकिशोरी प्रजनन स्वास्थ्य सम्बन्धि पञ्चबर्षिय योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।