प्यूठान । जिल्ला बालअधिकार समिति प्यूठानमा ६ जनालाई मनोनीत गरिएको छ । समितिको बैठकले विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल समावेशिताको आधारमा हुनेगरी ४ जना र २ जना बाल संजालबाट प्रतिनिधित्व हुने गरि समिति चयन गरिएको समितिका अध्यक्ष धरम बहादुर जिसीले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारको बालसंरक्षण ऐन २०७६ अनुसार जिल्लामा बालअधिकार समिति गठन भएको हो । समितिको सदस्यमा मनोनीत हुनेहरुमा जुमान सिंह केसी, चक्रपाणि पौडेल, बिरेन्द्र खड्का र दुर्गा गिरी रहनु भएको छ । त्यसैगरि बाल संजालबाट शुभम बि.क. र जमुना बुढाथोकीलाई चयन गरिएको छ ।
बैठकमा मनोनीत गरिएका सदस्यहरुलाई स्वागत गरिएको थियो । मनोनीत सदस्यहरुको कार्यकाल ४ वर्ष हुने ब्यबस्था रहेको छ । समितिमा सरोकार राख्ने कार्यालय प्रमुखहरुलाई पदेन सदस्य र मनोनीत ६ जना सहित १५ सदस्य रहने ब्यबस्था रहेको छ
जिल्लामा बालबिबाह, बालश्रम, बाल दुर्ब्यबहारलाई न्यूनीकरण गर्नका लागि सामाजिक बिकास डिभिजन कार्यालयसंगको सहकार्यमा मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकामा सरोकारवाला निकायका बिच बालबालिकाका सवालमा अन्तरक्रिया कार्यक्रम संचालन गर्ने निर्णय भएको समितिका सदस्य सचिव पुन्य प्रसाद न्यौपानेले बताउनुभयो ।