प्यूठान । जिल्लाका स्थानीय तहले विपद उद्धारका लागि आवश्यक पर्ने सामाग्री प्रहरीलाई उपलब्ध गराएका छन् । विपदको समयमा उद्धार गर्न आवश्यक सामाग्री स्थानीय तहले जिल्ला प्रहरी कार्यालय प्यूठानलाई उपलब्ध गराएका हुन ।
माण्डवी गाउँपालिकाले करीव सात लाख रुपियाँ मुल्य बराबरको विपद उद्धार सामाग्री हस्तान्तरण गरेको प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले बताउनुभयो । प्राप्त सामाग्री पालिका भित्र रहेका प्रहरी चौकीमा राखिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी सरुमारानी गाउँपालिकाले विपद उद्धार सामाग्री प्रहरीलाई हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले प्रहरी नायव उपरीक्षक थापालाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । ती सामाग्री पालिका भित्रका विभिन्न प्रहरी युनिटमा राखिएको छ ।
त्यसैगरी जिल्लाकै स्वर्गद्धारी नगरपालिका, झिमरुक गाउँपालिका, सरुमारानी गाउँपालिका, गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकाले अग्नी नियन्त्रक मेसिन उपलब्ध गराएका छन् । ती मेसिन पालिका भित्र रहेका प्रहरी चौकीमा राखिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार स्थानीय तहले विपद उद्धार सामाग्री प्रहरीलाई उपलब्ध गराएका हुन् । बाढी, पहिरो, डढेलो, भुकम्प जस्ता विपदका बेला उद्धारसँग सम्वन्धि सामाग्री स्थानीय तहले नजिकको प्रहरी चौकीमा उपलब्ध गराउने निर्णय भएको थियो ।