प्यूठान । ऐरावती गाउँपालिकाको बरौलामा लागु औषध दुर्ब्यसन, लैगिंक हिंसा र बाल बिवाह नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र नेपाल प्रहरी श्रीमति संघ लुविनी प्रदेशको सहकार्य र जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वयमा आइतवार कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रहरी श्रीमति संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुवंरले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गर्ने बताउनुभयो । समाजमा भइरहेका अपराध तथा लागुऔषध दुर्ब्यसन, लैंगिक हिंसा, बाल बिवाह नियन्त्रण गर्न स्थानीय तहहरुले विशेष खालमा कार्यक्रम मार्फत जनसमुदायमा चेतना फैलाउन जरुरी रहेको बताउनुभयो । नेपाल प्रहरीसंग समन्वय गरी कार्यक्रम गर्दा अपराधका घटनाहरु न्यूनिकरण हुदै जानेमा आफु विश्वस्त रहेको समेत उहाँको भनाइ छ ।

त्यस्तै कार्यक्रममा बोल्दै लुम्वीनी प्रदेश प्रहरी प्रमुख कुबेर कडायतले कार्यक्रमहरु धेरै भइसके अब परिणाम आउन बाँकी रहेको बताउनुभयो । घरेलु हिंसा घरबाटै हुने र हिंसा लुकाउदा त्यो पनि अपराध भएको उहाँले बताउनुभयो । “अपराध जहाँ जुनसुकै ठाउँमा पनि हुने गर्दछ, अपराधको सिमा हुदैन ।” प्रमुख कडायतले भन्नुभयो, “जहाँ समाज हुन्छ त्यहाँ प्रहरी हुन्छ, समाजमै समस्या हुन्छ ति समस्याहरुको निवारण गर्नका लागि राज्यले प्रहरी खटाएको छ ।”

कार्यविधी निर्माणमा जिल्ला प्रहरी कार्यालयले ऐरावती गाउँपालिका संग समन्वय गरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख इश्वर थापाले बताउनुभयो । प्यूठानमा बाल विवाहको तथ्यांक हेर्दा पछिल्लो ७ वर्षमा २४ वटा मुद्धा दर्ता भएका छन् । यस आर्थिक वर्षमा ४ वटा मुद्धा परेका जानकारी प्रमुख थापाले गराउनुभयो । बालबालिकाहरु बच्चैमा आमा बन्छन् र आफ्नो बाल्यकाल अनाथमै गुमाउछन् उहाँले भन्नुभयो, “बिवाह पछि बालबालिकाको पढाइ विग्रने, विरामी हुने, मानसिक विकाश नहुने हुँदा सामाजमा नकारात्मक प्रभाव सिर्जना भइरहेको छ ।” बाल विवाह गरेका ८० प्रतिशत बालिकाहरुले श्रीमानको घरमा स्वच्छ र प्रयाप्त खानाका साथै हेरचाह नपाएको उहाँको तर्क छ ।

 

सामाजिक अभियानका कार्यक्रम आइसके पछि समुदायमा प्रहरी प्रति विश्वास बढिरहेको नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले बताउनुभयो । यस्ता खाले अभियानहरुलाई सफल र सार्थक बनाउन सञ्चार क्षेत्रबाट निरन्तर सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

सबै कुरा माथिबाट सिधै आउन सम्भव नहुने हुँदा बस्तीका आमा समुह, महिला समुह, शिक्षक, नागरिक समाज, स्वास्थ्य स्वंयमसेवीका, जनसमुदाय लगायत सम्पूर्णको पहलमा सामाजिक अपराधहरु न्युनिकरण गर्नुपर्ने ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । घरेलु हिंसा, लैंगिक हिंसा, बाल बिबाह, बहु बिबाह, लागु औषध दुर्ब्यसन लगायतका अपराधिक घटनाहरु न्युनिकरणमा सवै क्षेत्रबाट ध्यान दिनु पर्ने अध्यक्ष शाहले जानकारी दिनुभयो ।

बाल बिबाह न्युनिकरणका लागि बाल बिवाह हुन लागेका समयमा जानकारी दिइ त्यो विवाह राख्न सहयोग गर्ने व्यक्तिलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो । ऐरावती गाउँपालिका बासीले ५ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको हुँदा भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालय प्यूठान र लुम्वीनी प्रदेश प्रहरी कार्यालयले पहल गरिदिनु हुन आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा नार्कोनन् नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले लागु औषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो । साथै गन्दर्भ समाज नेपाल प्यूठानका साँस्कृतिक टोलिले लागु औषध दुर्व्यसनी र बाल विबाह नियन्त्रण सम्बन्धी सचेतनामूलक गीतसमेत प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय