![](https://saharakhabar.com/wp-content/uploads/2024/05/Messenger_creation_9cec1a84-9575-411f-9daf-266133e607e9.jpeg)
प्यूठान । जिल्ला स्थित पेशागत महासंघ प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार पेशागत महासंघ जिल्ला कमिटी प्यूठानको २९ औं स्थापना दिवसको अवसरमा भुवनेश्वरी माध्यमिक विद्यालय खैरामा अध्यनरत २० जना सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुको शैक्षिक कार्यमा थप सहजता पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको पेशागत महासंघ प्यूठानका अध्यक्ष दल बहादुर केसीले जानकारी दिनुभयो । थोरै भएपनी सहयोग होस् भनेर शैक्षिक सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै नेकपा (एमाले) प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले असल नागरिक उत्पादनको लागी शिक्षा महत्त्वपूर्ण भएको भन्दै सुस्त श्रवण शक्ति भएका विद्यार्थीलाई थप मनोबलको आवस्यकता रहेकोले स्थानीय तहले लगानीको दायरा फराकिलो बनाउदै लैजानुपर्ने बताउनुभयो । भिन्न क्षमता भएका विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री र खेल सामाग्री तथा अन्य शैक्षिक सामाग्री आवस्यकता रहेकोले सबैले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पेशागत महासंघ प्यूठानका अध्यक्ष दल बहादुर केसीको अध्यक्षता, नेकपा (एमाले) प्यूठानका अध्यक्ष बिजय विराज बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक चन्द्रकान्त पोख्रेलले गर्नुभएको कार्यक्रममा पेशागत महासंघ प्यूठानका अन्य पदाधिकारी, निजामती कर्मचारी संगठनका प्रतिनिधि, शिक्षक, अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।