प्यूठान । जिल्लामा पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान संचालन हुन लागेको छ । यहि जेठ १३ गतेदेखि २६ गतेसम्म खोप अभियान संचालन हुन लागेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
२०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभयो । जिल्लाभर ११ हजार ५६४ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । खोप लगाउन ४०१ विद्यालयमा ३९१ क्गोप केन्द्र तय गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा सन २०१० देखि पोलियोका बिरामी छैनन । सन २०१४ मा नेपाल पोलियो मुक्त भएको हो । बिश्वमा अफगानिस्तान र पाकिस्तानमा अझैपनि पोलियोका बिरामी भएकाले पोलियो उन्मुलन हुन सकेको छैन ।
नेपालमा २०७३ जेठदेखि २०७५ भाद्रसम्म पोलियो खोप अभाव भएको हुँदा त्यो बेला खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर देशैभर अभियानको रुपमा खोप लगाउन थालिएको स्वास्थ्य प्रमुख पाण्डेले बताउनुभयो ।
आज स्वास्थ्य कार्यालयमा जिल्ला स्तरीय खोप समन्वय समिति र सन्चारकर्मीसंग अन्तरक्रिया आयोजना गरि अभियानलाई प्रभावकारी बनाउन छलफल गरिएको थियो । समितिका संयोजक जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसी, उप प्रमुख दुर्गा रेग्मी, प्यूठान नगरपालिका प्रमुख विष्णु बहादुर योगी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल सहित सन्चारकर्मीको सहभागिता थियो ।