प्यूठान । जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोक बजारको सडकको दायाँबायाँ सडक क्षेत्रमा बनाइएका अस्थायी घरटहराहरु हटाउन सुरु गरेको छ । मंगलबार प्यूठान नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी सहितको टोलीले अस्थायी घरटहराहरु हटाउन सुरु गरेको हो ।
बाग्दुला पुलचोक अन्तर्गत बसपार्क जाने सडकको छेउमा फलफुल ब्यवसायीले बनाएका अस्थायी टहरा नगरपालिकाले हटाएको प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगीले जानकारी दिनुभयो । सडकको मापदण्ड अनुसार बाग्दुला चोकबाट बसपार्क सवारी साधन लैजान समस्या भएपछि सडक चौडा बनाउन अस्थायी टहराहरु हटाइएको मेयर योगीले जानकारी दिनुभयो । बाग्दुलासंगै अन्य क्षेत्रमा समेत सडक अतिक्रमण गरि बनाइएका घरटहराहरु हटाउने काम सुरु गरिएको योगीले बताउनुभयो ।
स्थानीयलाई केहि दिन पहिले सूचना दिएर आफ्ना घर टहराहरु आफैले हटाउन आग्रह गरिएको भएपनी स्थानीयले घरटहरा हटाउन अटेर गरेपछि पालिकाले आफै हटाउन बाध्य भएको उप-प्रमुख देबेन्द्र बर्माले जानकारी दिनुभयो । बाग्दुला बजार आसपासका अस्थायी घरटहरा हटाउने काम सुरु गरिएको र यसलाई नगरपालिका क्षेत्रभरीनै सञ्चालन गरिने बर्माले जानकारी दिनुभयो ।
सोमबार प्युठान नगरपालिकाका मेयर, उपमेयर सहितको टिमले ब्यापारीहरुलाई भेटेर घरटहरा, सामान हटाउनका लागि अन्तिम समय दिएर आव्हान गर्नुभएको थियो ।
अस्थायी रुपमा बनेका घर टहरा हटाउनका लागि प्यूठान नगरपालिकाले ३ महिना अगाडी एक सूचना प्रकाशित गरेको थियो । सो सूचनाको अवज्ञा गर्दै अस्थायी संरचना निर्माण गरी व्यवसाय संचालन गर्दै आइरहेको नगरपालिकाले त्यस्ता घरटहरा हटाउन जनप्रतिनिधिनै सडकमा उत्रिएको हो ।