प्यूठान । स्वर्गद्वारीमा आज बैशाखे पूर्णिमाको मेलामा भक्तजनको घुँइचो लागेको छ । स्वर्गद्धारीका महाप्रभु बाल तपस्वि नारायण गौतमले बि.सं.१९५२ साल बैशाख शुक्ल पुर्णिमाको दिन बेद मन्त्रबाट यज्ञ स्थापना गर्नुभएको दिनको सम्झनामा वर्षेनी मेला लाग्ने गर्दछ । १२९ वर्षदेखी यज्ञ निरन्तर रुपमा बलिरहेको हो ।
बिश्व शान्तिको कामना गर्दै महाप्रभुले यज्ञ स्थापना गर्नुभएको स्वर्गद्वारी आश्रमका कोठारी प्रमुख बाशुदेब भट्टराईले जानकारी दिनुभयो । बिश्वमा धर्म हराउदै गएकोले धर्मको रक्षा गर्न महाप्रभुले यज्ञ स्थापना गरेको उहाँ बताउनुहुन्छ । यज्ञ अनावरत रुपले चलाउन समेत महाप्रभुले आग्रह गरेर १९९७ मा परमधाम हुनुभएको उहाँको भनाई छ ।
शान्ति र मोक्ष प्राप्तीका लागि स्वर्गद्वारीमा भक्तजन पुग्ने गर्दछन । बैशाख पुर्णिमा मेला हेर्न बुधबारदेखि नै नेपालका बिभिन्न ठाउँ र भारतको उत्तर प्रदेशबाट भक्तजन स्वर्गद्वारी पुगेका छन । बैशाखे पूर्णिमामा सवैभन्दा ठूलो मेला लाग्ने भएकाले धेरै भक्तजन पूर्णिमा मेलामा स्वर्गद्वारी पुग्ने गर्दछन् ।
स्वर्गद्वारीमा यज्ञ लगाएर पाँच पाण्डब स्वर्ग गएको किम्बदन्ती समेत छ । स्वर्गद्वारी दर्शन गरेमा मोक्ष प्राप्ती हुने बिश्वास गरिन्छ । स्वर्गद्वारीमा करीब पाँच सय गाई छन । यहाँ गौमाताको दर्शन समेत गरिन्छ । स्वर्गद्वारीसम्म पछिल्लो समय कालोपत्रे बाटो भएकाले भक्तजनलाई पुग्न सजिलो छ । दुई हजार एक सय मिटर उचाईमा अबस्थित स्वर्गद्वारीबाट बिभिन्न हिमाल हेर्न सकिन्छ । यहाँ बैशाख पुर्णिमा, गाई तिहारे औंशी, माघे सक्रान्तिमा बिशेष मेला लाग्ने गर्दछ ।