प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकाले निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतबार गौमुखी गाउँपालिका-७ नारिकोटमा सञ्चालन भएको निःशुल्क पशु स्वास्थ्य शिविरबाट ४ हजार ५० पशुपंछीको जाच तथा उपचार गरिएको छ ।
पालिकाले सञ्चालन गरेको निःशुल्क पशु स्वास्थ्य शिविरबाट ३ सय १० घरधुरीका स्थानीय पशुपालन किसानका २ हजार ५ सय भेडा बाख्रा, ५ सय ७५ भैंसी र पाडापाडी, ६ सय ५० गाईगोरु र ३ सय ५० कुखुरा गरी जम्मा ४ हजार ५० पशुपंछीको औषधि उपचार गरिएको गौमुखी गाउँपालिका पशु सेवा शाखाका पशु स्वास्थ्य प्रमुख हिमलाल शर्माले जानकारी दिनुभयो ।
पशु प्राविधिक शर्माका अनुसार निःशुल्क पशु स्वास्थ्य शिविरमा पशु किसानका पशुपंछीलाई पखाला लागेको, फुलिएको, भिटामिन, बाँझोपन हटाउने औषधि, आन्तरिक तथा बहिरी परजीवी नियन्त्रण औषधि, र अन्य पशु रोगको प्राबिधिक परामर्श गरिएको पशु स्वास्थ्य प्रमुख शर्माले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको लागि गाउँपालिकाले निःशुल्क पशु स्वास्थ्य शिविरको लागि ४ लाख बजेट बिनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो । पशु पालक किसानलाई मध्यनजर गर्दै यो बजेट बिनियोजन गरिएको उहाँले बताउनुभयो । गाउँमै पशु किसानलाई सहज भएको उहाँले जानकारी दिनुभयो । गाउँघरमै उपचार र औषधी सेवा पाउँदा किसान खुशी भएका छन् ।
गौमुखी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कोमल पुरीको अध्यक्षतामा भएको निःशुल्क पशु स्वास्थ्य शिविरमा पशु प्राविधिक हिमलाल शर्मा, राकेश कुमार सिंह, अनिता लम्साल र बिरेन्द्र खड्काले औसधि तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो ।