
प्यूठान । बर्द बहादुर गण प्यूठानले मनसुनजन्य बिपदको समयमा गरिने उद्दारको नमुना अभ्यास प्रदर्शन गरेको छ । मनसुनको समयमा प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गणले माडी नदि जस्पुरमा अभ्यास सहित नमुना प्रदर्शन गरेको हो ।
बिभिन्न बिपदका घटनामा नेपाली सेनाले उद्दारको कार्य गर्दै आएको बताउदै गणका प्रमुख सेनानी रमेश थापाले मनसुनजन्य बिपदका घटनामा उद्दारको लागि अभ्यास गरिएको बताउनुभयो । जिल्लामा बाढी पहिरोको जोखिम रहेको र वर्षेनी जनधनको क्षति हुने गरेको भन्दै त्यसको न्यूनीकरण गर्न सेनाले अभ्यास गर्दै आएको जानकारी गराउनुभयो ।
अभ्यासमा बाढी, पहिरो, डुबानबाट प्रभावितहरूको उद्दार, उपचार, उद्दारमा स्थानीय सामाग्रीको प्रयोग लगायतको प्रदर्शन गरिएको थियो । नमुना प्रदर्शनीमा नेपाली सेना र शसस्त्र प्रहरीको टोली सहभागी थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले
जिल्लाले मनसुनजन्य बिपद प्रतिकार्य तथा पुर्व तयारी कार्ययोजना स्वीकृति गर्नुपर्ने गरि बिपद पुर्व तयारीमा लाग्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा आपतकालीन केन्द्र स्थापना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । जिल्लामा यो वर्षा आगलागीको समस्यासंग जुध्न गाह्रो भएको स्मरण गर्दै सुरक्षाकर्मी बाहेक स्थानीय स्तरमा जनशक्ति तयार गर्न आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी र माण्डबी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले नेपाली सेनाले गरेको अभ्यासले नागरिक स्तरमा समेत पुर्व तयारी र उद्दारको ज्ञान हासिल भएको बताउनुभयो । जिल्लामा बर्द बहादुर गणले नागरिकको हितका लागि गरिरहेको कामको प्रशंसा गर्नुभएको थियो ।