प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले वडास्तरमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको छ। शुक्रबार झिमरुक गाउँपालिका-६, तोरबाङ्ग नेटामा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले मेलमिलाप केन्द्रको उद्घाटन गर्नुभएको हो ।
स्थानीय स्तरमा हुने विवाद निरुपणको लागि वडास्तरमै स्थानीयका समस्यामा छलफल र संवादमार्फत मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँटोल समाजमा हुने स-साना झैझगडा, विवादलगायत घटना पालिकासम्म नल्याईकन मेलमिलापकर्ताको माध्ययमबाट वडा स्तरमै समस्या समाधान गर्न केन्द्र स्थापना गरिएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका प्रमोद पोख्रेलले बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐनको प्रावधानअनुसार वडातहमा मेलमिलाप केन्द्र स्थापना गर्नुपर्ने कानुनी ब्यवस्था अनुसार मेलमिलाप केन्द्रको स्थापना गरिएको पोख्रेलले जानकारी दिनुभयो। प्रत्येक वडामा रहेका मेलमिलापकर्तामार्फत वडामा रहेको केन्द्रमै छलफल गरी मिलापत्र गर्नुका साथै विवादलाई समाधान खोजिनेछ।
झिमरुक गाउँपालिकाका ८ वटै वडामा मेलमिलाप केन्द्रको स्थापना गरिने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । पालिकाभित्र मेलमिलाप सम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरूपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिन लागिएको अध्यक्ष महतरा क्षत्रीले बताउनुभयो।
‘समुदायमा हुने विवादलाई न्यायिक समितिबाट सञ्चालित मेलमिलाप केन्द्रमा नै समाधान खोजिनेछ। हरेक वडामा मेलमिलापकर्ता छन्,’ महतरा क्षत्रीले भन्नुभयो, ‘मेलमिलापकर्ताले सहजीकरण गरी छलफल बिधिबाट दुवै पक्षहरूको मेलमिलाप गराइ सम्बन्ध स्थापित गर्ने छन्। आमनागरिकलाई न्यायको पहुँचमा ल्याउनका निम्ति र न्यायिक समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मेलमिलाप केन्द्र थप सहयोगी निकाय हुने उहाँले बताउनुभयो।’
गाउँपालिकामा रहेका ८ वडा मध्य ७ वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरेर स्थानीय जनतालाई सेवा प्रवाह गर्न सुरु गरिएको छ । वडा नम्बर ८ मा स्थापना गर्न बाकी रहेकोमा उक्त वडामा तत्कालै मेलमिलाप केन्द्र स्थापना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले जानकारी दिनुभयो ।
पालिकाभित्र कुल ३० जना तालिमप्राप्त मेलमिलापकर्ता उत्पादन गरि हाल २६ जना मेलमिलापकर्ताले नवीकरण गरेर सूचीकृत भएको झिमरुकमा न्यायिक समिति हेर्ने कर्मचारी नासु यामलाल पोख्रेलले जानकारी दिनुभयो।
गाउँपालिकाको स्थापना देखि हालसम्म २ सय १८ उजुरी दर्ता भएकोमा २ सय १ उजुरीको किनानारा लागेको न्यायिक समिति हेर्ने कर्मचारी पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार १७ वटा उजुरी निवेदनको किनारा लगाउन बाकी रहेको जानकारी दिनुभयो । यी १७ उजुरीका बिषयमा म्याद तामेली भएको तर प्रतिबादी लगाउन सम्बन्धित पक्ष नआएको घरमा नभएकोले किनारा लगाउन समस्या भएको पोख्रेलले बताउनुभयो ।
चालू आर्थिक वर्षमा १४ वटा उजुरी दर्ता भएकोमा ६ वटा उजुरीको किनारा लगाइएको जानकारी दिनुभयो । अहिलेसम्म पालिकामा लेनदेन, पतिपत्नी बिच झैझगडा, जग्गाको साधसिमान गालीबेजेती लगायतका उजुरी दर्ता हुने गरेको पोख्रेलले जानकारी दिनुभयो ।
वडा अध्यक्ष धन बहादुर पुन अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि कर्मचारी मेलमिलापकर्ता लगायतको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group