भैरहवा । नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । भैरहवामा सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनबाट गैरै अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका खेम लुईँटेलले बिहीबार उम्मेदवारी फिर्ता लिएसँगै गैरे सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यसअघि उहाँ जिल्ला कमिटी सचिव हुनुहुन्थ्यो ।
गैरेको अध्यक्षतामा १४७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै एमाले रुपन्देहीको उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्र बहादुर कार्की, उपसचिव (महिला)मा सुनिता ठठेर र उपसचिव (खुल्ला) मा बाबुराम पन्थी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत धर्म बहादुर खड्काले जानकारी दिनुभयो ।
अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडी बढ्ने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई पहिलो पार्टी बनाउने, कार्यकर्ताहरुलाई योग्यता क्षमताअनुसार जिम्मेवारी दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।