मच्छि । प्युठानको झिमरुक गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आइतबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाईएको बताउनुभयो । पालिकाले सर्वेक्षण गर्दा १ जनाले एउटा पनि खोप नलगाएको र ४ जनाले पुरा मात्रा खोप नलगाएको भेटिएको थियो । उनिहरुलाई समेत खोपको दायरामा ल्याईएको उहाँले बताउनुभयो । खोप लागाउनको लागि सबैलाई सूचना गर्ने र निगरानी गर्नुपर्ने बताउनुभयो ।

पालिकाभर १५ महिनासम्मका ४८६ जना बालबालिका र
१६ देखी ५९ महिनासम्मका बालबालिकाहरुको सर्बेक्षण गरिएको प्रमुख केसीले जानकारी दिनुभयो । सबै वडाका बस्तिमा रहेका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पुर्ण खोप पाएको केसीले बताउनुभयो । उहाँका अनुसार २३ महिना भित्र दादुरा रुवेला विरुद्धको दोस्रो मात्रा खोप लगाएको हुनुपर्ने र सबै बालबालिकाले नियमित सबै खोप लगाएपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा हुने बताउनुभयो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले वषेनी यो कार्यक्रमलाई महत्व दिएर सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सबै नागरिकलाई स्वास्थ्यको पहुँच बढाउन र स्वास्थ्य क्षेत्रमा दिगोपनाको लागि सबै सरकारले लगानीको दायरा बढाउन पहल गर्नुपर्ने बताउनुभयो । पुर्ण संस्थागत प्रसुती वडा घोषणा गर्न सबैको सहकार्य आवश्यक छ। सबैले हातेमालो गरेर पुर्ण संस्थागत प्रसुती वडा हुँदै पालिका घोषणा गर्ने कार्यमा जुट्न सके अभियान सफल हुने उहाँले बताउनुभयो । स्वास्थ्य जस्तो संबेदनसिल बिषयमा आमनागरिक सचेत हुनुपर्ने बताउनुभएको छ ।


त्यस्तै पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउँको समृद्धिको लागि कुरो गरेर मात्रै नहुने बताउनुभएको छ। समृद्धिको लागि अब कुरो होइन जनताले अनुभुती गर्ने गरि सबै मिलेर काम गर्नेबेला भएको बताउनुभयो ।

“सबैभन्दा पहिला मानबिय बिकासको जरुरी हुन्छ,” उहाँले भन्नुभयो, “मानबिय बिकास नभएसम्म बिकासले गति लिन सक्दैन । ” उहाँले निरन्तर चल्ले कार्यक्रम भएकोले सरकार र अभियान्ता लाग्नुपर्ने बताउनुभयो ।

पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले त्रिपक्षिय रुपमा लागेर यो कार्यक्रम सफल भएको बताउनुभएको छ । दुरदराजमा बस्ने बालबालिका र अभिभावकलाई बुझाउन सकेमात्र यो अभियान सफल हुने जानकारी दिनुभयो । मान्छेलाई स्वस्थ राख्नु सरकारको दायित्व भएकोले यो अभियान फलदायी हुने बताउनुभयो ।

अन्तिम पालिकाको रुपमा पुर्णखोप सुनिश्चितता घोषणा कार्यक्रम आज झिमरुक गाउँपालिकालाई घोषण गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे जानकारी दिनुभयो । वर्षैपिच्छे गरिने कार्यक्रम भएकोले स्थानीय सरकारले प्राथमिकता दिएर लैजानुपर्ने बताउनुभयो । प्रमुख पाण्डेले भन्नुभयो, “खोप जनताले पाउँदा निशुल्क पाएको हो तर राज्यले भने धेरै लगानी गरेको छ । खोप कार्यक्रममा एक ब्यक्ती बराबर करिब ४० देखि ४५ हजार बराबर खर्च आउछ ।” खोप आधाभुत सेवा भएको भन्दै उहाँले खोप लागाउनु दायित्व र अधिकार दुबै भएको बताउनुभयो । खोप खुल्ला स्थानमा लगाउन मिल्दैन त्यसैले सरकारले खोप केन्द्र बनाईदिन स्थानीय सरकारलाई प्रमुख पाण्डेले आग्रह गर्नुभयो ।

स्वास्थ्यको पहुँचमा आम नागरिकलाई ल्याउन पर्नेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहीले सबैलाई आग्रह गर्नुभयो । लक्ष्य प्राप्तिको लागि सबैको महत्त्वपूर्ण भुमिका र उत्तिकै जिम्मेवारी रहेकोले मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । “यो अभियान सफल बनाउन खासगरी स्वास्थ्यकर्मी गाउँ गाउँ खट्नुभयो,” उहाँले भन्नुभयो, “थप प्रभावकारी बनाउन अझै सबै लागौ ।”

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै उपाध्यक्ष प्रमोद पोख्रेल, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही र कोल्डचेन अधिकृत कौशल वैद्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै वडा कार्यालय, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख बिकास केसी र सञ्चालन कार्यालय सहायक दामोदर पोख्रेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय