
प्यूठान । प्रथम नगरपालिका स्तरीय किशोरकिशोरी सम्मेलन सम्पन्न भएको छ । “किशोरकिशोरी मैत्री स्थानीय सरकार, सुनिश्चित भविष्यको शुरुवात” भन्ने मुल नारा सहित प्रथम सम्मेलन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी प्यूठान नगरपालिकाका उप–प्रमुख देवेन्द्र वर्माले किशोरकिशोरीहरु सृजनशिल बन्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा किशोरकिशोरीले उठाएका समस्या तथा सवाललाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय किशोरकिशोरीहरु कुलतमा फस्दै गएको भन्दै त्यस प्रकारका क्रियाकलापहरुबाट टाढा रहेर आफ्नो अध्ययनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उप–प्रमुख वर्माले विद्यालयहरुमा शुक्रबारीय कार्यक्रमहरु गरेर किशोरकिशोरीहरुको सृजना, क्षमता विकास गर्न सकिने भन्दै त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । “हामीहरुको पालामा विभिन्न खेलहरु खेल्थ्यौ” उहाँले भन्नुभयो,“प्रविधि अनुसारको पब्जी, फ्रिफायर प्रतियोगिता गराऔं ।” किशोरकिशोरीहरुको क्षमता पहिचान गर्न सृजनात्मक क्रियाकलापले सहयोग गर्ने उहाँको भनाई छ ।
१३ बुँदे घोषणा–पत्र जारी
किशोरकिशोरी सम्मेलनले १३ बुँदे घोषणा–पत्र जारी गरेको छ । पाँच वर्षभित्र बालविवाह मुक्त पालिका घोषणा गर्ने, किशोरकिशोरीमैत्री निती, युवा निती कार्यान्वयन गर्ने लगायतका विभिन्न विषयहरु समेटिएको घोषणा–पत्रमा पालिकाका जनप्रतिनिधिले हस्ताक्षर समेत गर्नुभएको छ ।
प्यूठान नगरपालिका स्तरीय जनप्रिय युवा क्लव र सकृय महिला युवा क्लवले आयोजना गरको सम्मेलनमा पालिका भित्रका विभिन्न ठाउँबाट युवाहरु सहभागी भएका थिए । उनीहरुले विजुवारमा ¥याली सहित किशोरकिशोरीसँग सम्वन्धित गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए ।
युएसएआईडी किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत केयर नेपाल, एचडीआई, जपाईगो, आयोन नेपाल, सिआरएस कम्पनी र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको हो ।