प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले आर्थिक वर्ष २०८०/०८१ मा ८० प्रतिशत कार्य प्रगति हासिल गरेको छ । कार्यालयमा २०६ वटा मुद्धा दर्ता भएकोमा १६५ वटा मुद्धा फछ्र्यौट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
प्रहरीमा ०७८/०७९ मा ३५ प्रतिशत र २०७९/०८० मा २९ प्रतिशत मुद्धा फछ्र्यौट भएको थियो ।
सवैभन्दा बढी आत्महत्या
जिल्लामा भएका अपराधका घटनाहरुमध्ये सवैभन्दा बढी आत्महत्याका घटना भएका छन् । प्रहरी नायव उपरीक्षक इश्वर थापाले ७९ वटा आत्महत्याका घटना भएको बताउनुभयो । अघिल्लो वर्ष ७४ वटा आत्महत्याका घटना भएका थिए । आत्महत्या गर्नेमा १८ वर्षदेखी ४० वर्ष उमेर समुहका व्यक्ति बढी देखिएका छन् । स्थानीय तहहरुमध्ये प्यूठान नगरपालिकामा बढी आत्महत्याका घटना भएका छन् । त्यसैगरी २२ जना बालबालिकाले आत्महत्या गरेको तथ्यांक छ ।
वर्षौ पुरानो मुद्धाका प्रतिवादी पक्राउ
आर्थिक वर्ष २०८०/०८१ मा ८८ जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । प्रहरीले विगत वर्षहरुका मुद्धामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुराना मुद्धामा फरार रहेका ३४ जना प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । जसबाट १२ वर्ष ७ महिना २२ दिन कैद असुल भएको र ८७ हजार ३ सय २० रुपियाँ जरिवाना असुल गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
जवरजस्ती करणी, बाल विवाह र बहु विवाह बढे
प्यूठानमा तुलनात्मक रुपमा आर्थिक वर्ष २०८०/०८१ मा जवरजस्ती करणी, बाल विवाह र बहु विवाहको घटना बढेको देखिएको छ । २०७९÷०८० मा १२ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएकोमा यो वर्ष १५ वटा मुुद्धा दर्ता भएका छन् ।
त्यसैगरी अघिल्लो वर्ष २ वटा बहु विवाहको मुद्धा दर्ता भएकोमा यो वर्ष ६ वटा मुद्धा दर्ता भएको छ । अघिल्लो वर्ष बाल विवाहको एउटा पनि मुद्धा दर्ता नभएकोमा यो वर्ष ६ वटा मुद्धा दर्ता भएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
घरेलु हिंसाका सवै मुद्धा मिलापत्र
जिल्ला प्रहरीमा दर्ता भएका घरेलु हिंसाका सवै मुद्धा मिलापत्र गरिएको छ । ५३ वटा मुद्धा दर्ता भएकोमा सवै मिलापत्र गरिएको प्रहरीले जनाएको छ । २०७८/०७९ मा ५१ र ०७९/८० मा ४६ वटा घरेलु हिंसामा मुद्धा प्रहरीकोमा आएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पिडीतहरुलाई प्रहरीमा आउन सहज वातावरण बनेको प्रहरी नायव उपरीक्षक थापाको बुझाई छ ।
सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घट्यो
प्रहरीको तीन वर्षको तथ्यांक अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ । २०८०/०८१ मा सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । १५ जना घाईते भएका छन् । २०७८/०७९ मा २३ जनाको मृत्यु र ४४ जना घाईते भएका थिए । २०७९/०८० मा २८ जनाको मृत्यु र ५८ जना घाईते भएका थिए ।
प्रहरीको तथ्यांकले सवारी दुर्घटना कच्ची सडकमा भन्दा पक्की सडकमा बढी हुने देखाएको छ । त्यसैगरी सवारी साधनहरुमा मोटरसाईकल/स्कुटर बढी दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमती पत्र नलिएकाबाट भन्दा सवारी चालक अनुमती पत्र लिएकाबाट दुर्घटना हुने गरेको देखिएको छ ।
प्रहरीले सवारी चेकजाँच र कारवाहीलाई पनि बढाएको छ । १० हजार ५९४ वटा सवारी कारवाहीमा परेका छन् । त्यो संख्या अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत बढी हो । त्यसैगरी ३५ प्रतिशत बढी राजश्व संकलन गरेको छ । ६३ लाख ७ हजार ५ सय रुपियाँ राजश्व संकलन भएको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष ४६ लाख ५२ हजार ५ सय संकलन भएको थियो । ट्राफिक सचेतनाका कार्यक्रम १ हजार २४ वटा गरिएको छ ।
केहि नव प्रर्वद्धनात्मक कार्य
जिल्ला प्रहरी कार्यालयले आफ्नो सेवा प्रवाहसँगै केहि नव प्रर्वद्धनात्मक कार्य समेत गरेको छ । भच्र्युल माध्यमबाट बकपत्र गरिएको, २ वर्षे पुरानो मुद्धाको घटना विवरण कागज सम्वन्धित प्रहरी युनिटमा गर्ने व्यवस्था मिलाइएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । अदालतसँगको समन्वयमा अस्थायी लगत कट्टा भएका फरार प्रतिवादीहरुको अभिलेख व्यवस्थापन गरिएको, सवारीज्यान मुद्धामा प्रतिवादीलाई सरकारी वकिल कार्यालयको सहमतिमा धरौटी रकम लिइ छाडिएको उहाँले बताउनुभयो ।
“सवारी दुर्घटनामा चालक घाईते अवस्थामा थिए,”उहाँले सुनाउनुभयो, “त्यो अवस्थामा चालकलाई धरौटीमा छाडिएको थियो ।” विभिन्न सरोकारवालासँगको समन्वय र सहकार्यमा विभिन्न सचेतनामुलक कार्यक्रम, तालिम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group