प्यूठान । सामुदायिक वनका उपभोक्ताले आफैले संरक्षण गरेको वनबाट फाइदा लिन नसकेको गुनासो गरेका छन । वनमा करोडौंका सम्पत्ति भएपनि उपयोग गर्न नपाएको गुनासो गरेका हुन ।
सामुदायिक वन दिवस २०८१ को अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्थानीय वन महासंघ गौमुखीका अध्यक्ष गोर्वद्धन थापाले राज्यले सही निति नियम नबनाइदिँदा समुदायले वनको उपभोग र उपयोग गर्न नपाएको बताउनुभयो । “सम्पत्ति वनमा छन, तर कसरी उपयोग गर्ने ?” उहाँले भन्नुभयो, “राज्यले निति नियम बनाइदिनुपर्यो ।” उहाँले विदेशबाट काठ आयात हुने र यहाँको जंगलको काठ कुहिनु ठिक नभएको बताउनुभयो ।
जडिवुटी व्यवसायी संघ प्यूठानका निवर्तमान अध्यक्ष नारायण पाण्डेले सामुदायिक वनहरु झाडि र बुट्यानले भरिएकोले स्थानीयले त्यसबाट फाईदा लिन नसकेको बताउनुभयो । कृषि, वन र पशुपालनसँग जोडेर जान सके सामुदायिक वनका उपभोक्ताले राम्रो फाईदा लिने उहाँको भनाई छ । उहाँले जडिवुटीको पहिचान र उपयोगमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्यूठानमा चार सय ५० सामुदायिक वन रहेका छन् । तीमध्ये कतिपयले उदाहरणीय काम गरेको डिभिजन वन कार्यालय प्युठानका सहायक वन डिभिजन अधिकृत हरि पौडेलले बताउनुभयो । सामुदायिक वनले कार्ययोजना बनाएर समुदायलाई फाइदा पुग्ने गरी काम गर्न सके लाभ हुने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ प्यूठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले सामुदायिक वनले योजनाबद्द रुपमा वन संरक्षण र आयआर्जनको काम गर्नुपर्ने बताउनुभयो । मेहनत गर्ने प्रवृत्ति कम हुँदै गएको र त्यसको असर वन क्षेत्रमा समेत परेको उहाँको बुझाई छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सरस्वती न्यौपाने, प्रदेश सदस्य दामोदर शर्माले ऐन संसोधन गरी उपभोक्ता मैत्री बनाउन जरुरी रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा प्यूठान क्याम्पस प्रमुख कल्पना खड्का, पत्रकार महासंघ प्यूठानका अध्यक्ष संजय रिजाल, स्थानीय वन महासंघ मल्लरानीका अध्यक्ष मिना गिरीले आफ्नो भनाई राख्नुभएको थियो ।
जिल्ला अध्यक्ष धुर्व थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष केशव बि.क. र संचालन सदस्य लोकेन्द्र सुनारले गर्नुभएको थियो ।



S.K. Creative Media Group