प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समिक बडालले अनेरास्ववियुले देशको नेतृत्व गर्नसक्ने योद्धा निर्माण गर्ने नर्सरी बनाउन लागिएको बताउनुभएको छ । उहाँले अनेरास्ववियुको नेता कार्यकर्ताले भोलि मुलुकको नेतृत्व गर्न सक्ने योद्धा निर्माण गर्ने नर्सरीको रुपमा अनेरास्ववियुलाई बनाउनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष बडालले व्यवस्था परिवर्तन गर्न विगतमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको भन्दै अहिले विद्यार्थी आन्दोलनको भूमिकामा परिवर्तन आएको बताउनुभयो । उहाँले स्वदेशमै अवसर सिर्जना गर्न राज्यको भूमिकालाई बढाउन अनेरास्ववियु लागिरहेको बताउनुभयो ।
उहाँले अहिले आन्दोलनको स्वरुपमा समेत परिवर्तन आएको बताउनुभयो । पहिले सडक आन्दोलनबाट खवरदारी गर्ने गरिएकोमा अहिले सूचनाको युगसँगै सामाजिक सञ्जालबाट खवरदारी गर्न सकिने बताउनुभयो । सूचना प्रविधिको प्रयोग गर्दै अनेरास्ववियुको अभियानलाई अगाडी बढाउनुपर्ने उहाँको भनाई छ ।
अनेरास्ववियु प्यूठानको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी बडालले शिक्षाको पाठ्यक्रम सुधार हुन जरुरी रहेको धारणा राख्नुभयो । पाठ्यक्रमले राष्ट्रिय उदेश्य बोक्नुपर्ने उहाँको भनाई छ । “आजको युवाहरु स्वदेशमै पढेपछि स्वदेशमै बस्ने, स्वदेशमै इलम गर्ने, स्वदेशमै उद्यम गर्ने सोंचहरु हामीले पढेको पाठ्यक्रमले हामीलाई दिनुपर्छ भनेर हामीले भनेका छौं” उहाँले भन्नुभयो । विद्यालय शिक्षा, विश्वविद्यालय शिक्षा र प्राविधिक शिक्षाको संशोधनको विषय संसदमा छलफल हुँदा उप–समितिमा संसोधन दर्ता गराएको अध्यक्ष बडालले बताउनुभयो ।
अध्यक्ष बडालले नेपालको बामपन्थी आन्दोलनमा प्यूठान जिल्लाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । उहाँले अधिवेशनबाट उन्नत विचार र नेतृत्व उत्पादन हुने बताउनुभयो ।
सहिद उमेशचन्द्र स्मृति भबन बिजुवार प्युठानमा भएको अनेरास्ववियु प्यूठानको १५ औं अधिवेशनको उद्घाटन शत्रमा तुल्सीराम शर्मा, नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजय विराज विष्ट, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरी, केन्द्रीय सचिव बिनिता काफ्ले, स्थायी कमिटी सदस्य गोविन्द थपलिया, केन्द्रिय सदस्य तथा अनेरास्ववियु प्युठान जिल्ला इन्चार्ज दिनेश केसी, प्रदेश अध्यक्ष सन्तोष बाठा, अनेरास्ववियु प्युठानका पुर्व अध्यक्ष जाल बहादुर केसी, नेबि संघ प्युठान अध्यक्ष कल्याण बिक्रम केसी, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष प्रेम विश्वकर्मा, लगायत नेताले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष दिल बहादुर दसौदीको अध्यक्षतामा भएको १५ औं जिल्ला अधिवेशनको उद्घान शत्र कार्यक्रमको सञ्चालन सचिव टेकराज के.सी.ले गर्नुभएको थियो, भने अनेरास्ववियु जिल्ला उपाध्यक्ष रमेस बिकले स्वागत गर्नुभएको थियो । अधिबेशनको बन्द शत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।