प्युठान । अविरल वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध मच्छी-ठुलाबेसी सडकमा मर्मत गरेपछि एक हप्तापछि सञ्चालनमा आएको छ । मच्छी-ठुलाबेसी सडकखण्ड अन्तर्गत गौमुखी र झिमरुक गाउँपालिकाको सिमानामा पर्ने हरियाखोलामा खसेको ठूलो पहिरोमा ग्याबिन जाली लगाई सडक मर्मत गरेसँगै अवरुद्ध सडक आइतबार बेलुकादेखि खुलेको हो ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरीका अनुसार सडक सहित झरेको पहिरोमा जाली लगाएपछि उक्त सडकमा साना सवारी साधन सञ्चालनमा आएको भएपनि ठुला यातायातका साधन भने अहिले बेलुकाबाट सञ्चालनमा आएको बताउनुभयो । जाली लगाउने काम सकिएर मर्मत समेत भएकोले अवरुद्ध सडक खुलेको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
करिब २५ मिटर सडक पुरै तल झरेपछी एकहप्तादेखी उक्त सडकमा सवारी साधन आउजाउ गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।पालिकाको मर्मत संभार कोषबाट खर्च व्यहोर्ने गरि सडक मर्मत गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या भएको थियो। करिब २५ मिटर लम्बाईमा ५ मिटर उचाइको ग्याबिन जाली लगाएर सडक निर्माण गरिएको छ ।