प्यूठान । वर्षेनी खेतीयोग्य जमिनहरु बाझो हुँदै गएका छन् । बसाईसराई र बैदेशिक रोजगारीका कारण गाउँमा राम्रो उत्पादन हुने खेतबारीमा खेती गर्न छाडिएको छ । बाझो जमिनलाई पुनः खेतीयोग्य बनाएर खेती गर्न प्यूठानको एउटा वडाले अभियानको शुरुवात गरेको छ ।

गौमुखी गाउँपालिका–५ खुङमा बाझो रहेका जग्गा खोजी गरेर खेती गर्न थालिएको छ । वर्षौदेखी खेती नगरेर बाझो बनेका जग्गा खोजेर वडा कार्यालयले यो वर्षदेखी खेती गर्ने अभियान नै चलाएको हो ।

स्थानीय राम बहादुर परियारको बाझो जग्गा खनजोत गरेर वडाले कोदो लगाएको छ । केहि खेतबारीमा कोदो रोपिएको र केही ठाउँमा रोप्न बाँकी रहेको वडा अध्यक्ष बरुणध्वज मल्लले बताउनुभयो । “वडा भित्रका अरु खाली जग्गामा पनि जौं, अदुवा, बेसार, फलफूल लगाउने योजना छ ।” उहाँले सुनाउनुभयो ।

बाझो रहेको खाली जग्गामा खेती गर्ने कार्यक्रमका लागि वडाले बजेट समेत छुट्याएकोे छ । वडाले उक्त कार्यक्रमका लागि एक लाख रुपियाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष मल्लले बताउनुभयो । बाझो जमिनमा खेती गरेर खेती गर्न योग्य बनाउने र जग्गाधनीलाई नियमित खेती गर्नका लागि आग्रह गर्ने उहाँले बताउनुभयो ।

“बाझोबारी खेती गर्न लायक बनाइदिएपछि अर्कोवर्ष आफै किसानले खेती गरोस् भन्ने हाम्रो मुख्य उदेश्य हो,” उहाँले भन्नुभयो, “वडाको पैसासँगै यो अभियानमा जनश्रमदान गर्ने सहयोगी मानिसहरु पनि जोडिएका छन ।” उत्पादन भएको अन्न काम गरेका कामदारलाई, घरधनीलाई उपहार स्वरुप दिएपछि बचेको अन्न वडाको आम्दानीको रुपमा राख्ने योजना रहेको उहाँले सुनाउनुभयो । पछिल्लो समय गाउँमा धेरै खेती योग्य जमिन बाझो बन्दै गएपछि जग्गाधनीलाई उत्पेरणा जगाउने उदेश्यले अभियान थालिएको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय