प्यूठान । झिमरुक गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका भित्र भएका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार गाउँपालिकाको सभाहलमा भएको समीक्षा गोष्ठीमा प्रत्येक स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेको गतिविधिको समीक्षा गर्दै पालिकाले गरेको सफल कार्यको अनुुभव साट्ने र सुुझाव समेत वार्षिक समिक्षामा आदानप्रदान गरिएको थियो।
समिक्षा गोष्ठीमा ८ वटै वडामा रहेका स्वास्थ्य संस्थाले आफ्नो वार्षिक प्रगति प्रस्तुत गरेको र प्रस्तुत गरिएको प्रगतिमा राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षमा व्यापक छलफल गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक बिकास केसीले जानकारी दिनुभयो ।गाउँपालिकामा रहेका स्वास्थ्य चौकी ५, आधारभूत स्वास्थ्य सेवा केन्द्र ३ गरी जम्मा ८ वटा स्वास्थ्य संस्थाले आफ्नो वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको संयोजक बिकास केसीले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा, स्वास्थ्य संस्था, नागरिक आरोग्य केन्द्र र स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ संस्थाहरु पोषण कार्यक्रम, मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र युएसएआईडी/एआरएच कार्यक्रम, किड्स कार्यकम र एचआईभी रोकथाम कार्यक्रमका प्रतिनिधिले आफ्नो गतिविधिको बारेमा प्रस्तुति रहेको थियो ।
समीक्षा कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले एक वर्षमा सम्पादन गरेका कार्यक्रमको प्रस्तुति गरिरहेका छन् । स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा, भौतिक अवस्था, जनशक्ति, उपचार सेवा, खोप सेवा, उपलब्धि, उपकरण र जनताको अपेक्षा सहित काम गर्दा परेको समस्या र समाधानका उपाय समेतको बारेमा प्रस्तुति रहेको थियो।
झिमरुक गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका कार्यबाहक अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाहिको प्रमुख आथित्यमा, स्वास्थ्य कार्यालय प्यूठानका खोप अधिकृत कौशल राज बैधको बिशेष आतिथ्यतामा स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।
वार्षिक समीक्षा कार्यक्रममा वडा नम्बर १का वडाध्यक्ष धुर्वराज खनाल, ३ का मीन बहादुर केसी, ५का दधिराम पोख्रेल, ६ का धन बहादुर पुन, ७ का कृष्ण बहादुर जिसी लगायत विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सञ्चारकर्मीको उपस्थित रहेको थियो ।
वार्षिक समीक्षा कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाध्यक्ष तथा गाउँपालिकाका कार्यबाहक अध्यक्ष सिताराम पोख्रेलले स्वास्थ्य संस्थामा देखिएका कतिपय समस्या समाधान गर्न सबैको सहकार्य आवस्यक रहेको बताउनुभयो । तथ्यांकअनुसार प्रगति सकारात्मक रहेकोले थप सुधारको लागि स्वास्थ्य संस्था जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।