प्यूठान । प्यूठानमा बेपत्ता पारिएकाहरुको सम्झनामा दीप प्रज्वल्न गरिएको छ । एम्नेष्टी इन्तरनेशनल नेपाल समुह -३६ प्यूठानले ‘बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १४ औं अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा सदरमुकाम खलंगा पाटी चोकमा दीप प्रज्वलन गरेको हो ।
बलपूर्वक बेपत्ता पार्ने कार्यलाई अन्तर्राष्ट्रिय मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनले मानवअधिकारको उल्लङ्घन मात्र नभनी एउटा निरन्तरको अपराधका रूपमा परिभाषित गरी यसलाई निषेध गरेका छन । तैपनि विश्वभर बेपत्ता पारिने कार्य व्यापक रूपमा भइरहेका छन ।
बलपूर्वक बेपत्ता पार्ने कार्यले व्यक्तिका निम्न मानवअधिकारहरू हनन हुने एम्नेष्टी इन्तरनेशनल नेपाल समुह -३६ प्यूठानका संयोजक शिवराज श्रेष्ठले बताउनुभयो । नेपालमा पनि व्यक्तिलाई बलपूर्वक बेपत्ता पार्ने कार्य थुप्रै भएको भन्दै विगतमा भएको एक दशक लामो सशस्त्र द्वन्द्वका क्रममा राज्य र द्वन्द्वरत पक्षबाट व्यापक मात्रामा नागरिकहरूलाई बेपत्ता पारिएको र तीमध्ये सयौँ जना अझै पनि बेपत्ता नै रहेको बताउनुभयो । ती आपराधिक कार्यका घटनामा दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय सुनिश्चित् गर्नु अनिवार्य रहेको उहाँको भनाई छ ।
सन २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिहरूको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन २०१० मा कार्यान्वयनमा आएपछि संयुक्त राष्ट्रसङ्घले सन् २०११ देखि सो महासन्धि पारित भएको दिन अगस्ट ३० लाई बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेपछि बेपत्ता पारिएका व्यक्तिहरूको स्मरणमा विभिन्न कार्यक्रम र अभियानहरू गर्ने गरिएको छ । यस दिनलाई विशेष महत्व दिदै एम्नेस्टीले बलपूर्वक बेपत्ता पार्नु अपराध हो र यसलाई द्वन्द्वको अवस्थामा अस्त्र वा रणनीतिको रूपमा प्रयोग गर्नुहँदैन भन्दै विभिन्न अभियानात्मक गतिविधिहरू गर्ने गरेको छ ।




S.K. Creative Media Group