प्यूठान । जिल्लामा भदौ २६ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाभर खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।

खोप अभियानका लागि ४० हजार २० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले बताउनुभयो । १२ वर्ष उमेर माथीका व्यक्तिलाई खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो मात्रा सवैले लगाए
जिल्लामा २०७७ माघ १५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पहिलो मात्रा खोप सवैले पाएका छन् । २ लाख ८ हजार ६८८ जनाले पहिलो मात्रा खोप लगाएका छन् । ५ वर्ष उमेर माथीका २ लाख १ हजार २५२ जनसङ्ख्या मध्ये त्यो भन्दा धेरैले खोप लगाएको निमित्त कार्यालय प्रमुख खड्काले बताउनुभयो । “भेरोसिल खोपलाई वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई मान्यता दिइएको थिएन,” उहाँले भन्नुभयो,“त्यसैले भेरोसिल लगाएका व्यक्तिले पुनः अरु खोप लगाउँदा पनि सङ्ख्या बढेको हो ।”
दोश्रो मात्रा खोप १ लाख ९८ हजार १३ जनाले लगाएका छन् । पहिलो मात्रा लगाएका ९५ प्रतिशतले दोश्रो मात्रा खोप लगाएका छन् । पहिलो बुस्टर १ लाख २९ हजार ८१२ जनाले लगाएका छन् । दोश्रो मात्रा लगाएका मध्ये ६६ प्रतिशतले मात्र बुस्टर लगाएको देखिन्छ । थप बुस्टर लगाउने ५७ हजार ४२१ जना रहेका छन् । पहिलो बुस्टर लगाएकामध्ये थप बुस्टर लगाउने ४४ प्रतिशत छन् ।

नयाँ खोप कार्ड
यो अभियानमा पहिलो खोप देखी थप बुस्टर खोप सम्म लगाइने कार्यालयको योजना रहेको छ । कार्यालयले खोपसँगै यसपटक खोपकार्डको समेत व्यवस्था गरेको छ । यसअघिका खोप कार्डमा विवरण लेख्ने ठाउँ सकिएको हुँदा नयाँ खोप कार्डको व्यवस्था गरिएको कोल्डचेन अधिकृत कोशलराज वैद्यले जानकारी दिनुभयो । जिल्लाका सवै वडामा साविकका खोप केन्द्रमा खोप लगाईने समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय