सैनामैना । सैनामैना उद्योग बाणिज्य संघ सैनामैना रुपन्देहीको आयोजनामा मुर्गियामा दशैं सस्तो पसल सञ्चालन गरिएको छ । राजमार्ग किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य सूची सहित सुरु भएको सस्तो पसल तीन दिनसम्म चल्नेछ ।

सस्तो पसलको शुक्रबार एक समारोहकाबीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले शुभारम्भ गर्नुभएको हो । नगरप्रमुख शर्माले सस्तो पसलले आम जनसमुदायलाई दैनिक उपभोग्य सामान सस्तो र सुलभ मुल्यमा उपलब्ध हुने र यसको फाईदा सबै नगरबासीले लिन आग्रह गर्नुभयो ।

उद्योग बाणिज्य संघले सस्तो पसल शुभारम्भकै अवसरमा दशैं, तिहार लगायततको पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख शर्माले उपभोक्ताको हित र सुविधालाई मध्यनजर गर्दै सस्तो बजार सञ्चालन गरेकोमा उद्योग बाणिज्य संघलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रथम नगर प्रमुख चित्र बहादुर कार्कीले नगरपालिकाले बजार अनुगमन र नगरले जनसमुदायमा दिनु पर्ने सुबिधाको बिषयमा योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

सस्तो पसलमा तेल, चिनी, मसला, साबुन, सरफ, दाललगायतका दैनिक उपभोग्य सामान राखिएको संघका उद्योग उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण प्रसाद पोखरेलले बताउनुभयो । सकेसम्म सस्तो, सुलभ र सहज तरिकाले यो बजार सञ्चालनको पहल गरिएको पोखरेलको भनाई छ ।

चाडपर्वका अवसरमा अरु बेला भन्दा धेरै आफन्त, नातेदारहरुको आपसमा जमघट हुने र धेरै वस्तुको उपभोग हुने भएकाले खपत पनि बढ्छ । यहीँ बेलामा किनमेल पनि बढी हुने भएकाले केही दैनिक उपभोग्य वस्तुमा सुलभ मूल्य निर्धारण गरेर यहाँ विक्रीवितरणका लागि राखिएको संघका महासचिव लोकनाथ अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय