रुकुमपश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोतीमा जाजरकोटका नवराज बिक सहित छ जनाको ज्यान जाने गरी भएको सामुहिक हत्याकाण्डको फैसला भएको छ ।
मंगलवार जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ जना मध्य थुनामा रहेका २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ ।
२०७७ साल जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, स्थित सोतीमा ६ जनाको युवकलाई सामुहिक हत्या गरिएको थियो । सो मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । जाहेरेवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ जना कानून व्यवसायी वकिलले बहस गर्नुभएको थियो ।
प्रेमिका लिन जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज बिक र संगै गएका साथिहरुको सोतिका स्थानीयले कुटपिट गरि सेती नदिमा फालिएको आरोपमा नेपाल सरकारले ३४ जना विरुद्ध मुद्दा चलाएको थियो ।
६ जनाको सामुहिक हत्या गरिएको मुद्दा २०७७ साल जेठ ३२ गते रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको थियो। मुद्दामा प्रतिवादीको संख्या धेरै भएकोले सुनुवाइ हुन समय लागेको हो ।
घटनापछि नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो । घटनाका २३ आरोपी पुर्पक्षका लागि कारागारमा थिए भने एकलाई धरौटी र १० जनालाई फरक–फरक समयमा साधारण तारेखमा छाडिएको थियो । उक्त मुद्दामा ३६ महिना निरन्तर सुनुवाइ शुरु भएको थियो ।
अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको बताउनुभयो ।
जन्मकैद सजाय पाउनेमा रुकुम पश्चिमको चौरजहारी– ८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोही ठाउँका डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)१, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)३, तिलक चन्द र इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी छन् । त्यस्तै, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नवीनकुमार घर्तीमगर (जिएम), विराज पुनमगर, भीमबहादुर पुन, रमित पुनमगर, विष्णु मल्ल र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९) (हाल अभिभावकको संरक्षणमा रहेका)लाई पनि जन्मकैद फैसला भएको सूचना अधिकारी कोइरालाले बताए । परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) २ र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)लाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो ।
घटनाका आठजनाले सफाइ पाए
तारेकमा रहेका अन्य आठजनालाई उक्त मुद्दामा सफाइ दिइएको छ । सफाइ पाउनेहरुमा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, ईन्द्र बहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्द छन् ।
यसैगरी, पीडितका परिवारहरुलाई प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवाना दामासाहि तरिकाले उपलब्ध गराउने फैसला भएको छ । आइतबार सुरु भएको पेशी सुनुवाई पछि तीन दिन लगाएर भएको बहस सकिएसँगै फैसला भएको हो ।
अदालतको निर्णयले चैन मिल्यो, छोरा र उसका साथीको आत्माले शान्ति पाउने
ढिलै भएपनि सम्मानित अदालतको फैसला स्वागतयोग्य भएको नवराज बिकका बाबु मुनलाल नेपालीले प्रतिक्रिया दिनुभएको छ । अदालतको फैसलासँगै छोराको आत्माले शान्ति पाउने विश्वास व्यक्त गर्नुभएको छ । ‘यति लामो समय बितिसकेको थियो, हामीले त न्यायको आशा मारिसकेका थियौँ, न्याय पाइएला भन्ने लागेकै थिएन,’ उहाँले भन्नुभयो, ‘आज श्रीमनले जुन फैसला गर्नुभयो, अदालतप्रति आभारी छौँ । न्याय नपाइने हो कि भनेर दिनरात छटपटी हुन्थ्यो, अब चैन मिलेको छ । अब छोरा र उसका साथीहरूको आत्माले शान्ति पाउँने आस पलाएको बताउनुभयो ।’
कसरी गुमाए ज्यान ६ जनाले
रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि छजना युवाले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी मल्ल परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । घरेलु हतियार सहित आक्रमण गरेका थिए । त्यसै क्रममा उनीहरुलाई लखेटी लखेटी हत्या भएको थियो।
त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।