प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकाबाट सरुवा भएर जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत शिव पौडेलको विदाई गरिएको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि पौडेललाई ससम्मान बिदाई गरिएको हो ।

नौबहिनी गाउँपालिकामा ३ वर्ष ८ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कै रुपमा सरुवा गरेपछि पालिकाले उहाँलाई बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष दिल बहादुर थापाले कर्मचारीको सरुवा, बढुवा हुने नियमित जस्तै भएपनी पालिकाको हितको लागि पौडेलले महत्वपूर्ण योगदान पुर्याउनु भएको बताउनुभएको छ । पौडेलको सरल, सहयोगी व्यवहार र निर्णय गर्न सक्ने क्षमताको प्रशंसा गर्दै उहाँसँग लामो समय काम गर्ने अवसर आफूहरूका लागि सिकाइको विषय रहेको बताउनुभयो।

उहाँले प्रशासनिक सुधार, जनमैत्री सेवा प्रवाह, जवाफदेहीता, पारदर्शिता, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता बिचको पारस्परिक सम्बन्धलाई सुमधुर बनाउदै सफल कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका खेल्नुभएको बताउनुभयो ।

पालिकाको प्रशासनिक सुधारका लागि पौडेलले खेलेको भुमिका महत्वपूर्ण रहेको स्मरण गर्दै अध्यक्ष थापाले गाउँ पालिकाको समग्र बिकास र समृद्धिको लागि जनप्रतिनिधि र कर्मचारी जनउत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभयो । त्यसको लागि जनप्रतिनिधि, कर्मचारी र जनता बीच समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो ।

स्थानीय तहमा कर्मचारी, जनप्रतिनिधि जहिलेपनी जनता प्रती उत्तरदायी भएर काम गरे धेरै राम्रा काम गर्न सकिने उहाँले बताउनुभयो । सुशासन कामय गर्दै जनताको सेवामा समर्पित रहन सबैलाई अध्यक्ष थापाले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नौबहिनीमा बिताएका ३ वर्ष ८ महिना निकै छोटो र अविस्मरणीय रहेको बताउनुभयो । कर्मचारी, जनप्रतिनिधि र स्थानीय जनतासँग मिलेर काम गर्दै गर्दा करिब ४ वर्ष बितेको पत्तै भएन उहाँले भन्नुभयो । पालिकामा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको साथ, सहयोगले नै काम गर्ने थप हौसला मिलेको उहाँले बताउनुभयो ।

गाउँपालिकालाई आर्थिक, भौतिक र सामाजिक रुपमा सक्षम र सबल बनाउन एक्लो पर्यासले मात्र सम्भव नहुने भन्दै सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । जनप्रतिनिधि नीति बनाउने तहमा हुन्छ कर्मचारी नीति कार्यान्वयन गर्ने तहमा हुन्छ। नीति बनाउने र कार्यान्वयन गर्ने तहमा स्पष्टता र एकताले समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

सरुवा भएर काम र जिम्मेवारीको सिलसिलामा मुलुकभर जहाँ गएपनी नौबहिनीले दिएको साथ, सहयोग, माया, विश्वास र भरोसालाई बचाइ राख्ने छु । उहाँले भाबुक हुँदै भन्नुभयो, “मैले कहिल्यै भुल्ने छैन, नौबहिनी मेरो लागि सिकाइको पाठशाला पनि भएको छ।”

गाउँपालिकाले आयोजना गरेको औपचारिक कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र विभिन्न सरोकार वाला व्यक्तिहरूको उपस्थितिमा पौडेललाई सम्मानपत्र,माला र टीका सहित विदाइ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय