प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध माघ २५ गतेदेखि ‘एचपीभी’ खोप अभियान सञ्चालन गरिने भएको छ । मंगलबार झिमरुक गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी पालिका स्तरीय अभिमुखीकरणमा कार्यक्रममा सो बारे जानकारी दिइएको हो ।
झिमरुक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विकास केसीका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर पूरा गरेका छात्रालाई उक्त खोप दिइने जानकारी दिनुभयो ।
अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत २ सय ८३ जना र विद्यालयमा छुट भएका ५ जना गरी जम्मा २ सय ८८ जना छात्रालाई ‘एचपीभी’ खोप लगाउने लक्ष्य राखिएको शाखा प्रमुख विकास केसीले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख विकास केसीका अनुसार माघ २५ गतेदेखि पालिका अन्तर्गतका २० वटा सामुदायिक तथा संस्थागत विद्यालय र पालिकाका ८ वटा स्वास्थ्य संस्था गरी २८ वटा खोप केन्द्रबाट खोप सेवा प्रदान गरिने जानकारी दिनुभयो।
उहाँले नेपालमा प्रत्येक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको देखिएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष १ हजार ३१३ जना महिला पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।
पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा ज्यान गुमाउने महिलाको संख्या बढ्दै गएको भन्दै उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गत वर्षदेखि देशव्यापी रुपमा एचपीभी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य शाखाका प्रमुख केसीले बताउनुभयो । यसवर्ष पनि सोही कार्यक्रमको निरन्तरता रहेको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले महिलाको पाठेघरको मुखको क्यान्सरको स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै लक्षित उमेर समूहका सबै बालबालिकालाई समयमै खोप लगाउन अभिभावक तथा विद्यालयलाई सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।
उहाँले खोप अभियान सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बिद्यालय, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । त्यसको लागि सबैले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा उहाँले खोप अभियानमा अन्य समस्यामा पालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले एचपीभी खोप सुरक्षित र प्रभावकारी रहेको बताउँदै लक्षित समूहका सबै छात्रालाई खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले यो अभियान सफल बनाउन सबैको समन्वय र सहकार्य रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संघ संस्थाका प्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।
गाउँपालिकाअध्यक्ष पित बहादुर महतरा क्षेत्री अध्यक्षतामा भएको पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममामा विकास केसीले प्रस्तुति राख्नुभएको थियो । स्वास्थ्य शाखा उप प्रमुख हरी जिसीले सहजीकरण गर्नुभएको थियो ।





S.K. Creative Media Group