प्यूठान । झिमरुक गाउँपालिकाको गाउँ सभा तथा अधिबेशन असार २८ गते हुने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल गरि निष्कर्ष निकालेपछि असार २८ गते दिनको १ बजे हुने गाउँ सभामा बजेट प्रस्तुत गर्ने सहमति भएको हो ।

असार १० गते बसेको झिमरुक गाउँपालिकाको गाउँसभा तथा १६ औं अधिबेशनले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत नगरी स्थागित भएको थियो। गाउँसभामा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि बजेट तथा कार्यक्रम भने प्रस्तुत हुन सकेको थिएन।

बुधबारको बसेको कार्यपालिका बैठकले पालिकाको नीति तथा कार्यक्रम र बजेटको बिषयमा छलफल गरेर बैठकले एकमतले अनुमोदन गरेपछि अनुमोदित नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा लैजाने निर्णय भएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । अघिल्लो कार्यपालिका बैठकले बजेट तथा कार्यक्रम पारित गरेपनि गाउँसभाका केहि सदस्यले बजेटको विषयमा छलफल आवश्यक रहेको बताएपछि बजेट प्रस्तुत नगरि गाउँसभा बैठक स्थगित गरिएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो।

यो संसदीय अभ्यास यस्तै हो । सिक्दै सिकाउदै जाने हुन्छ । एक अर्कामा छलफल गरेर माझिएर जानुपर्छ । त्यो पक्ष नै लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष हो। झिमरुक कस्तो बनाउने भन्ने तपाइँ हाम्रो सहि निर्णयले अगाडि बढ्न मार्ग प्रर्सस्त गर्ने भएकोले माझिएर बिग्रेको भए करेक्सन गरेर अगाडि जान आफू बाधक नहुने अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले नीति तथा कार्यक्रम अनुमोदन नभएको कारणले बजेट प्रस्तुत नभएको बताउनुभयो । उहाँले बजेट जस्तो बिषयमा विवादका बीच अघि बढ्नु भन्दा मिलेर अगाडी बढ्नुपर्ने भएकोले छलफलको लागि केही समय उपलब्ध गराइएको उहाँले बताउनुभयो

उहाँले भन्नुभयो, “बाहिर आएजस्तो मनोमानी बजेट बनाएकै छैनौ कार्यपालिकामा छलफल गरेरै बजेट बनाएकै हौं।” एकले अर्कोलाई आरोप लगाउने अमुर्त कुरा गर्ने परिपाटीले हामी सहि ठाउँमा पुग्न नसकिने उपाध्यक्ष पोख्रेलले बताउनुभयो । केही समस्या भए बैठकमा छलफल बार्ता र संवादबाट सामुहिकरुपमा समस्या टुङ्गो लगाएरै अगाडि बढ्दा पालिकालाईनै फाइदा हुने उहाँले बताउनुभयो । गाउँको बिकास र समृद्धिको लागि मिलेरै अगाडि बढौ । त्यसको लागि जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने बताउनुभयो । काम गर्ने बेलामा कमजोरी हुन्छन् करेक्सन गरेर जानुपर्छ । हामी त्यो करेक्सन गर्न तयार छौ उहाँले भन्नुभयो।

राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले) बाट निर्वाचित वडा अध्यक्ष तथा जनप्रतिनिधिले बजेटका बिषयमा असहमति राख्दै आएका थिए । वडालाई दिएको बजेट सिलिङको सिमा बढाउनुपर्ने र गाउँ साभामा घाटा बजेट नल्याउन आग्रह गरेको वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबै बिषयमा करिबकरिब कार्यपालिका बैठकले टुङ्गो लगाएकोले २८ गते नीति तथा कार्यक्रम र बजेट अनुमोदन हुने बताउनुभयो।

त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष सिताराम पोख्रेलले अहिले नीति तथा कार्यक्रम र बजेटमा करेक्सन भएको छ । अब नीति तथा कार्यक्रम र बजेटमा समस्या हल भएकोले बजेट आउने कुरामा बाटो खुलेको पोख्रेलले जानकारी दिनुभयो । छलफल भए अनुसार निति तथा कार्यक्रम र बजेट आएमा पास हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय